भदौ २३ सल्यान – आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र सल्यान सहमतिबाटै उम्मेदवार टुंग्याउन प्रयास गरेपनि अन्तत सम्भावित उम्मेदवारकाे नाम सिफारिस गरेको छ ।

बुधबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समितिको चौथो पुर्ण बैठक र बिहिबार बिहान बसेको कार्यालयको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ टेकबहादुर बस्नेत र रमेश मल्ल र समानुपातिकतर्फ कमल बिक, दिलमाया बुढामगर र रत्न बहादुर वलीको नाम सिफारिस गरेको माओवादी केन्द्र सल्यानका सचिव निम बहादुर केसीले बताए ।

प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानमा यसअघि पटकपटक निर्वाचित भइसकेका बस्नेतले पुन: उम्मेदवारीमा इच्छा कायमै राखेपछि माओवादी सल्यानलाई सहमतिमा उम्मेदवार टुग्याउन सकस परेकाे हाे। पछिल्लो केही दिन यता पार्टी भित्रबाट मल्ललाई नै सर्वसम्मतमा उम्मेदवार बनाउन सुझाव पाइरहेका बेला बस्नेत आफ्नो अडानबाट पछि नहटेपछि दुवै जनाकाे नाम सिफारिस गरिएको हाे।

त्यस्तै प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ भिम प्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । समानुपातिक तर्फ कल्पना पुन, टीका बुढाथोकी, तिलक कुमार विक र धर्मे बुढाथोकी सिफारिस भएकाे छ।

त्यसैगरि प्रदेश (ख) चित्रबहादुर केसीको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ नवीन भडेल, मन्जु यरी, राधा शर्मा घर्ती, रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस भएको सचिव केसीले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार