भदौ १३ सल्यान – पानीको अभाव झेलिरहेकाे बागचाैर नगरपालिका -२ मा खानेपानी घरघरमै पुगेपछि अभाव हटेकाे छ।

‘एक घर एक धारा, शुद्ध खानेपानी बागचाैर आयोजनाको अभिभारा´ भन्ने नाराका साथ निर्माण सुरु गरिएको बागचाैर लिफ्ट खानेपानी आयोजनाकाे साेमबार एक कार्यक्रमका बिच उद्घाटन गरेसंगै त्यहाका स्थानीयलाई दैनिकमा सहज बनेकाे छ।

कर्णाली प्रदेश सरकार र जिल्ला खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा निर्माण गरिएको लिफ्ट खानेपानी लिफ्ट खानेपानी आयोजना कुल ३ करोड १६ लाख बजेट मध्य रु १ करोड ९० लाख खर्च भएको र जनश्रमदान २० प्रतिशत बाट सम्पन्न भएकाे उक्त याेजनाकाे १०० घनमिटरको ट्यांकी बागचाैर बजार माथि, ७० घनमिटरको ट्यांकी बेसमा रहेको र ३० घनमिटरको ट्यांकी जिउँला गाउँ माथि रहेको जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले बताए।

आयोजनाबाट नगर भित्रका बागचाैर बजार, थारमारे बजार, जिउँला र मिलन डाँडाका ४०० घरधुरी अहिलेसम्म प्रत्यक्ष रुपमा लाभान्वित भएको र आगामी दिनमा आयाेजना विस्तारका क्रममा १००० घरधुरी सम्म बिस्तार गर्ने लक्ष्य रहेको आयाेजनाका कार्यसमिति अध्यक्ष ज्ञानेश्वर केसीले बताए।

उक्त आयाेजनाकाे कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, बागचाैर लिफ्ट खानेपानी कार्यसमिति अध्यक्ष केसीको विशेष पहलमा बागचाैर लिफ्ट खानेपानी आयोजना अगाडि बढेको आयाेजना कार्यसमितिले जनाएको छ।

आयोजनाका अध्यक्ष केसीको अध्यक्षता, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव ज्वालाको प्रमुख आतिथ्यता, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको विशिष्ट आतिथ्यता, बागचाैर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डिसी वलीको आतिथ्यता र जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा लगाएत विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु उपभोक्ताहरु र पत्रकारहरुको उपस्थितिमा बागचाैर लिफ्ट खानेपानी उद्घाटन गरिएको हो ।

बागचाैर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव ज्वालाले स्वच्छ खानेपानी खान पाउने जनताको आधारभूत आवश्यकता भएको बताउदै हरेक विकास निर्माणमा सम्पुर्ण राजनीतिक दल सबै सँग समन्वय गरि अगाडि बढ्नुपर्ने आवश्यक रहेकाे बताए। त्यसैगरि विकास पुर्वाधारमा उपभोक्ताले आफ्नो जिम्मेवारी महसुुस गरि संरक्षण संगै आवश्यकता अनुसार मात्रै सदुपयोग गर्न निर्देशन समेत दिए।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार शर्माले लिफ्ट खानेपानी मात्रै नभई कृषि क्षेत्रलाई पनि ध्यानमा राखि लिफ्ट सिचाइ मार्फत चैत र वैशाखमा निरन्तर सिचाइकाे सुविधा बनाउन सकिए यहाँका किसानको राम्रो सम्भावना रहेको बताए।

त्यस्तै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले खानेपानीको क्षेत्रमा जति समस्याहरु र चुनाैतीहरु बराबरी रहेकाे बढि समस्या रहेका क्षेत्र पहिचान गरि स्राेत र साधनकाे उचित प्रयाेग र अध्यनबाट बागचाैर नगरपालिका यस्तै लिफ्ट खानेपानीका लागि प्रदेश सरकार र संघिय सरकार सँग विशेष पहल गर्ने बताएका छन।

कार्यक्रमकाे संचालन बागचाैर लिफ्ट खानेपानी आयोजना सचिव भिम बहादुर भण्डारीले गरेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार