साउन १९ सल्यान – राेल्पा त्रिवेणी गाउँपालिकामा रहेकाे राेल्पा सिमेन्ट उद्योगका ट्रिपरलाई कपुरकाेट गाउँपालिका सल्यानले आफ्नो क्षेत्रभित्र राेक लगाएपछि कतिपय मिडियाले गाउँपालिका र उपाध्यक्ष विरुद्ध भ्रामक समाचार प्रकाशित गरेकाे भन्दै गाउँपालिका र उपाध्यक्षले फरकफरक विज्ञप्ति सार्वजनिक गर्दै खण्डन गरेका छन।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै `गाउँपालिकाको उपाध्यक्षले दादागिरी देखाउदै चुनाव खर्च उठाउन सिमेन्ट उद्योगका गाडी सञ्चालनमा रोक´ लगाएको शिर्षकमा एक अनलाईनमा समाचार प्रकाशन गरेपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उपाध्यक्ष प्रकाश भण्डारीले आफ्नो बारे कपोलकल्पित, हदैसम्मको भ्रामक र तथ्यहिन आरोप प्रकाशित भएको जनाउदै उक्त कार्य घृणित भएकाले घोर भ्रत्सना, निन्दा तथा खण्डन गर्दै कानुनी कारबाही समेत गर्ने चेतावनी दिएका छन।

विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिका उपाध्यक्ष पदको गरिमा तथा लोकप्रियतामा धक्का दिने दुष्प्रयास सहित अनुचित फाईदा उठाउने, व्यक्तिगत स्वार्थपुर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादालाई समेत पूर्ण रुपमा लत्याएर प्रकासित उक्त समाचारप्रति आपत्ति प्रकट गर्दछु । यो मेरो राजनितिक ,सार्वजनिक र ब्यक्तिगत चरित्र हत्या गर्ने मेरा विरोधीहरुको नियोजित षडयन्त्र हो ।’

उता गाउँपालिकाले पनि उक्त समाचार भ्रामक र दुवै पक्ष छलफलकाे लागि तयारी भएकै बेला भ्रम सिर्जना गर्न खाेजिएकाे गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनद्वारा हस्ताक्षर विज्ञप्ति भनिएको छ।

गत असार २१ गते उक्त उद्योग र पालिका बिच ७ बुदे सम्झौता गरि सडककाे मर्मतकाे काम हुँदै आइरहेको र केही समस्याको लागि साउन १८ अर्थात बुधबार पुनः छलफलकाे तयारी रहेकाेमा साउन १७ अर्थात मंगलबार भ्रमित समाचार सम्प्रेषण हुनु खेद जनक रहेकाे विज्ञप्तिमा उल्लेख छ।

गत जेठ २८ को कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले धुलो नियन्त्रण र सडक मर्मत नभए सम्म सिमेन्ट उद्योगबाट सडक मर्मत र धुलो नियन्त्रणमा प्रभावकारी काम हुदैन र सिमेन्ट उद्योगबाट चुनढुँगाको निर्यातको अनुमती प्राप्त भएको प्रमाण सहित जानकारी गाउँपालिकालाई नभएसम्म उक्त सडक खण्डमा ट्रिप्पर संचालनमा गाउँपालिकाले राेक लगाएको थियाे।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार