साउन १५ सुर्खेत – विभिन्न समयमा ६ जना बालिका बलात्कार आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिकाका -६ का १४ वर्षिय किशोर रहेको र उनकाे वतन अहिले गाेप्य राखिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
ती किशोरले ५ देखि ७ वर्ष उमेरकी ६ जना बालिकाहरुलाई विभिन्न खाने वस्तु दिएर प्रलोभनमा पारी ललाइफकाई फरक–फरक समयमा बलात्कार गरेको खुलेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए।
पिडित बालिका मध्ये एक जनाको योनिमा घाउ भएपछि बालिकाले आमालाई भनेपछि घटना बाहिरिएको र ती किशोरले डेढ महिनाको अवधिमा ती बालिकामध्ये केहीलाई एकपटक र केहीलाई दुई पटकसम्म बलात्कार गरेको समेत बालिकाकाे भनाइ अनुसार परिवारले बताएका छन।
पीडित परिवारले साउन ११ गते इलाका प्रहरी कार्यालय बाबियाचौरमा किशोर विरुद्ध किटानी जाहेरी दिए लगत्तै आरोपित किशोरलाई प्रहरीले शनिबार पक्राउ गरि जिल्ला प्रहरी सुर्खेतको हिरासतमा राखि अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
अनुसन्धानकाे क्रममा ती किशोरले ६ वटा मध्ये केहिलाई मात्रै एक पटक बलात्कार गरेकाे स्विकारे पनि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।