साउन १४ सल्यान – राहत करार काेटामा शिक्षक पदपूर्ति गर्दा आफ्ना निकटका परीक्षार्थी सफल नभएको भन्दै बनगाड कुपिन्डे नगरपालिका -७ सिम्तिगैरामा रहेकाे बाल कल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक सहित विद्यालय व्यवस्थापन समिति अध्यक्ष र नगर शिक्षा प्रमुख एक आपसमा बाझिदा परीक्षा नै रद्द गरिएको छ।
एउटा स्थानीय तहकाे शैक्षिक गतिविधि व्यवस्थापन र नियमन गर्ने स्थानीय तह शाखा निकायकाे रुपमा रहेको शिक्षा शाखाका प्रमुख नै अहिले उक्त घटनामा विवादमा तानिनु परेकाे छ। आफू निकटका परीक्षार्थी छनाेटमा पर्ने नदेखिएपछि उक्त विद्यालयका प्रधानाध्यापक बोधिराम रावत र बिद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि सार्की बिच सहमति हुन नसकेपछि परीक्षा बनाउन पुगेका बिषयविज्ञहरु सहित परिक्षा स्थलबाट भागेको भन्दै परीक्षा तत्कालै स्थगित भएको र रद्द नै गर्नु परेकाे नगर शिक्षा शाखा प्रमुख धुर्वा कुमारी थापा बताउछिन।
उता विद्यालय प्रशासनले भने नगर शिक्षा शाखा प्रमुख थापामाथि उल्टै आराेप लगाउदै थापाकाे आराेपकाे खण्डन गरेकाे छ। प्रधानाध्यापक रावत र अध्यक्ष सार्कीले संयुक्त रुपमा एक सुचना सार्वजनिक गरेका छन। राहत करारमा शिक्षक पदपूर्तिका लागि १५ दिनका लागि विज्ञापन खाेलेपछि १५ जनाले दरखास्त दिएकोमा परीक्षामा १२ जना मात्रै सहभागि भएकाले आफुहरुले शान्तिपुर्ण, धादलीरहित र निष्पक्ष्य परीक्षा गराउन खोज्दा नगर शिक्षा प्रमुख थापाले प्रधानाध्यापक सहित विषय विज्ञलाई समेत दबाब दिएकाे आराेप लगाएका छन।
परीक्षार्थीबाट वस्तुगत पत्र आफैले उठाएकाे, विषय विज्ञभन्दा पहिले नै उक्त सबै १२ वटै वस्तुगत पत्रमा राताे संकेत लगाएको, विषय विज्ञले प्रधानाध्यापकलाई नतिजा नबुझाउदै प्रधानाध्यापकलाई सुचना लेख भन्दै अनैतिक रुपमा दबाब दिएकाे, विषय विज्ञहरु भएको ठाउँ बाहिरी अनाधिकृत शक्ति प्रवेश गराई गाेपनियता र विश्वसनीयतामा खलल पुर्याएकाे र १२ जना मध्ये २ जनाले नाम निकालेकाेमा एकै जनाकाे मात्रै सुचनामा नाम लेख्न दबाब दिएकाे आराेप विद्यालय प्रशासनले नगर शिक्षा शाखा प्रमुख थापामाथि लगाएको छ।