कात्तिक २२ काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईका तथ्यांकमा उल्लेख रहेको इकाईका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए ।

एउटै लाभग्राही मध्यमा अनुगमन गर्दा र केही उजुरी परेपछि गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएको पाइएकाे हाे। त्यस लगत्तै पुन:निर्माण प्राधिकरणले ताकेता गरेकाे थियाे। केहीले लाभग्राहिले भने स्वइच्छाले समेत रकम फिर्ता गरेका छन् । कात्तिक १४ सम्मको तथ्यांक हेर्दा पहिलो किस्ता बापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन् । लाभग्राहीले घर बनाउन पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाएका थिए।

रकम फिर्ता गर्ने सङ्ख्या मध्ये पहिलो किस्ता २ हजार ४२, दोस्रो किस्ता १ सय र तेस्रो किस्ता फिर्ता गर्ने ८ जना छन् । यसबाट ९ करोड ७० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ सय ४५ छ । त्यस्तै स्वेच्छाले फिर्ता गर्ने ४ सय ५ जना छन् जसमा पहिलो किस्ता ३ सय ९७ जना, दोस्रो ५ र तेस्रोमा ३ जनाले फिर्ता गरेका छन् । यसअन्तर्गत दुई करोड ९ लाख रुपैयाँ फिर्ता भएको आयोजनाका वित्तीयविज्ञ हरिनारायण निरौलाले बताए ।

तथ्यांकअनुसार गोरखामा पहिलो किस्ता फिर्ता गर्ने २ सय ७१ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने दुई दुई जना छन् । त्यस्तै काठमाडौंमा पहिलो किस्ता फिर्ता गर्ने ४५ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने एक एक जना छन् । ललितपुरमा पहिलो किस्ता २ सय, दोस्रो २६ र तेस्रो किस्ता फिर्ता गर्ने दुई जना छन् । रामेछापमा पहिलो किस्ता २२ र दोस्रो किस्ता फिर्ता गर्ने १ जना छन् । दोलखामा पहिलो किस्ता फिर्ता गर्ने ९१ जना, दोस्रो ५४ र तेस्रो किस्ता फिर्ता गर्ने २ जना छन् । रसुवामा पहिलो किस्ता फिर्ता गर्ने ७ र दोस्रो किस्ता फिर्ता गर्ने ११ जना छन् । काभ्रेमा पहिलो किस्ता २ सय २०, दोस्रो २ र तेस्रो किस्ता फिर्ता गर्ने १ जना छन् । सिन्धुलीमा पहिलो किस्ता फिर्ता गर्ने १८ र दोस्रो किस्ता फिर्ता गर्ने ३ जना छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार