साउन १२ दाङ – हाेटलबाट रुपयाँ चाेरी गरि भाग्दै गरेका एकजनालाई लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ बस्ने साहिल राई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राईलाई करिब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हाे।
सोही उपमहानगरपालिका-१५ स्थित प्यूठानी होटेलमा कोही नभएको अवस्थामा नगद १० हजार चोरी गरी राई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।
उनी विरुद्ध चाेरी तथा लागूऔषध ओसारपसार कसुरमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।