साउन ५ विराटनगर – नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्बर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८/०७९ मा ८ हजार ५५ वटा मुद्धा दर्ता भएका छन् भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको छ ।
संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै १ नम्बर प्रदेश भरीमा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुले आफ्नो पदिय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
यस आर्थिक वर्षमा जम्मा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धि शिर्षकमा मुद्धा दर्ता भई कानुनि कारवाही भएको छ भने ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट गरिसकेको र फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।
यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना मानिस र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरेको छ ।
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिकमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारवाही गरी १८ करोड १ लाख ५९ हजार राजश्व संकलन भएको छ भने लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७ मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ ।
यसै गरी प्रहरी कार्य तर्फ उत्कृष्ट कार्य गर्ने १ हजार सय ६४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ भने प्रहरी आचरण बिपरित कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरुलाई बिभागिय कारबाही गरिएको प्रहरी उपरीक्षक राईले बताए।