बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा अदालतबाट कैद र १ करोड ४६ लाख ५० हजार रुपैयाँभन्दा बढी जरिवाना ठहर भएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० निवासी ३४ वर्षीय अभिनाश राना रहेको इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए।

पक्राउ परेका राना माथि बाँके जिल्ला अदालत नेपालगञ्जले विभिन्न मितिमा बैंकिङ कसुर र चेक अनादर मुद्दामा कैद र जरिवानाकाे फैसला सुनाएको थियो। फैसला पश्चात उनी फरार रहेका थिए।

रानाविरुद्ध बैंकिङ कसुर मुद्दामा २ महिना कैद र १ करोड ३० लाख रुपैयाँ जरिवाना, अर्को बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय ताेकिएकाे थियाे।

फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत नेपालगञ्जमा पेश गरेको प्रहरी निरीक्षक गुप्ताले बताए।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार