असार १७ काठमाडौं – सार्वजनिक स्थानहरुमा भिक्षा माग्न काठमाडौ महानगरपालिकाले प्रतिबन्ध गरेकाे छ।
काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति आधारमा याे कार्य अघि सारेकाे जनाएको छ। अबकाे १० दिनभित्रमा सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्न र सूचनाको उल्लंघन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने समेत महानगरले चेतावनी दिएको छ।
असहाय, वृद्ध तथा रोगी मानिसलाई महानगरले विभिन्न ठाउँबाट उद्धार गरी व्यवस्थापन गर्दै आएको बताउदै मानव सेवा आश्रमको आवश्यक परेमा काठमाडौं महानगर वा आश्रममा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्न नपाइने भन्दै शुक्रबार महानगरपालिकाले सार्वजनिक सुचना निकालेकाे छ। तर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा कुनै रोक नलगाइएको समेत महानगरले स्पष्ट पारेकाे छ।
‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन समेत सुचनामा उल्लेख गरेकाे छ।