असार १३ रौतहट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व हिनामिना गरेको आरोपमा नगर प्रमुख सहित २१ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा बिजयपुर नगरपालिकाका नगरप्रमुख गोपाल राय यादव र तत्कालीन उपप्रमुख कान्ती देवीसहित २१ जनाविरुद्ध करिब डेढ करोड रुपैयाँ बिगो माग दाबी सहित विशेष अदालत काठमाडौमा मुद्दा दायर भएको अख्तियार अनुसन्धान आयाेगले जनाएको छ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीबाट प्राप्त ढुङ्गा, गिटी र बालुवा लगायत वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादव, तत्कालीन नगर उपप्रमुख कान्तिदेवी, वडा नं. १ का तत्कालीन वडा अध्यक्ष संजय प्रसाद, वडा नं. २ का तत्कालीन वडा अध्यक्ष भविछन राय यादव, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष दिपनारायण साहविर, वडा नं. ५ का तत्कालीन तथा हालका वडा अध्यक्ष शेख एजाज अहमद, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष हिरा राय यादव, वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष तथा हालका नगर कार्यपालिकाका सदस्य उमाशंकर साह कलवार, वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष दिपनारायण चौधरी, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष योगेन्द्र प्रसाद चौधरी, वडा नं. ११ का तत्कालीन तथा हालका वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी, नगर कार्यपालिकाका तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, तत्कालीन नगर कार्यपालिका सदस्य तथा हाल वडा नं. ७ को वडा सदस्य जिरनी देवी, तत्कालीन नगर कार्यपालिका सदस्य फुल कुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रबिन्द्र कुमार निधि विरुद्ध मुद्दा दायर भएको छ।

त्यस्तै नियमानुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन र धरौटी जफत नगरेको, पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि निजको धरौटी जफत गरी दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौताका लागि बोलाउनुपर्नेमा त्यसो नगरी अमानतबाट राजस्व सङ्कलन गर्ने कार्यलाई निरन्तरता दिएको र धरौटी जफतका लागि कुनै पनि पहल नगरेको आरोपमा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहलाई पनि प्रतिवादी बनाएर बिगो, कैद र जरिवाना मागदावी सहित मुद्दा दायर भएको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

यी २१ जना विरुद्ध कुल १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो। जिल्ला समन्वय समिति रौतहटको रोहवरमा बसेको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रूपमा ढुङ्गा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाँडफाँट गर्ने गरी सहमति भएको थियो। तर, फतुवा विजयपुर नगरपालिकाले आ.व २०७५/०७६ को लाल बकैया नदीको ठेक्का कानुन विपरीत मिलेमतोमा नदीजन्य वस्तु बिक्री गर्न ठेकेदारलाई जिम्मा लगाएका थिए।

२०७५ पुस १५ मा लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा त्यस विपरीत मिलेमतोमा सम्झौता गरेको उजुरी अख्तियारमा परेपछि छानबिन सुुरु भएको थियाे।

अख्तियारले प्रतिवादीबाट फतुवा विजयपुर र गुजरालाई क्रमशस् ६० र ४० प्रतिशत रकम दिलाउन पनि माग दाबी गर्दै उनिहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार