असार ५ दाङ –   राप्ती गाउँपालिका वडा नम्बर -५ सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चाैकी एम्बुलेन्स बिहिन भएको छ ।

स्वास्थ्य चौकीको आफ्नै एम्बुलेन्स हुदाहुदै पनि सम्बन्धित निकायले विभिन्न कारण देखाउदै मर्मत गर्न आनाकानी गरेपछि स्वास्थ्य चाैकीमै विगत १० महिना देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । एम्बुलेन्स मर्मत तथा सञ्चालन गर्न सम्बन्धित निकायले चाँसो नदिएकै कारण त्यसको प्रत्यक्ष मार स्थानीय बिरामीले व्यहोर्नुपरेको स्थानीयले बताएका छन् ।

विभिन्न समयमा पटकपटक भएको दुर्घटनाले सो एम्बुलेन्स बिग्रिएर थन्काउनु परेको स्वास्थ्य चाैकीका इन्चार्ज धनबहादुर खड्का बताउँछन्। थोरै खर्चमा मर्मत गरेर चलाउन मिल्ने भएमा असार महिना भित्रै सञ्चालन गर्ने यदि त्यो पनि सम्भव नभएमा गाउँ कार्यपालिकाको बैठक मार्फत यस आर्थिक वर्षमा गाउँपालिकाको लगानीमा एम्बुलेन्स संचालनमा कुनै विकल्प खाेजिने योजना रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताए।

नेपाल सरकारको नयाँ नीति अनुसार स्वास्थ्य चाैकीले पुन: नयाँ एम्बुलेन्स खरिद गर्न नपाईने नियम भएकोले नयाँ खरिद गर्न नसकिएको र बनाउन खर्च अत्यधिक लाग्ने भएको हुँदा एम्बुलेन्स थन्किएपछि समस्या उत्पन्न भएको प्रमुख रावतले बताए।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार