जेठ २८, सल्यान – बागचौर नगरपालिका वडा नं. ६ कोटबारा निवासी स्व. देविसरा वलीका कान्छा छोरा सर्वजित वलीले आफ्नो आमाको पाँचौ पुण्यतिथिको अवसरमा आफ्नै घर नजिकको विद्यालय श्री सरस्वती मा.वि.जामुनेचौरमा अक्षयकोष स्थापना गरेका छन ।
वलीले आफ्नो आमाको देहावसान पछि हरेक वर्ष आमाको सम्झनामा कुनै न कुनै सामाजिक कार्यमा केही रकम खर्च गर्दै आएको र ५ औं पुण्यतिथिको अवसरमा भने पारिवारिक सल्लाह अनुसार भविष्यमा पनि आउने सन्ततिहरुले आमाको सम्झनामा गरिएको कार्यलाई उच्च मुल्यांकन गरून् र यसबाट विद्यालयसँगै जेहेन्दार विद्यार्थीमा हौसला प्रदान सहित केहि राहत होस भन्ने ध्येयले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको बताए ।
उनले रु.१ लाख ५ हजार रुपैयाँ रकमको अक्षयकोष स्थापना गरेका छन । जसबाट आउने ब्याजको ७५% रकम तोकिएको कार्यविधि बमोजिम गरिब, जेहेन्दार, दलित विद्यार्थी र अनुशासित एवम् उत्कृष्ट शिक्षकलाई पुरस्कृत एवम् सम्मान गर्ने बताए ।
वली उक्त विद्यालयका भुपु विद्यार्थी हुन भने हाल विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका छन ।
विद्यालयको अक्षयकोष स्थापनाको अवसरमा उपस्थिति वडा नं. ६ का वडाध्यक्ष ज्ञान बहादुर वली (माइकल) ले विद्यालयप्रति उक्त लगानीको लागि धन्यवाद दिदै यस्ता किसिमका उदाहरणीय कामको सिको सबैले गर्न आग्रह समेत गरेका छन ।
उनले शैक्षिक क्षेत्रको परिवर्तनका लागि अभिभावक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको पारस्परिक सम्बन्ध हुने भएकाले सबैको आ-आफ्नो ठाउँमा महत्त्वपूर्ण भुमिका हुनुका साथै आफू पनि यश क्षेत्रसँगै वडा नं. ६ को समग्र विकासका लागि निरन्तर लागि पर्ने बताए ।
बागचौर नगरपालिका कार्यपालिका सदस्य रेशम विक, वडा नं. ६ का वडा सदस्य जगत खड्का लगायत विभिन्न विद्यालयकम शिक्षक तथा अभिभावक उपस्थिति रहेको कार्यक्रमको सहजीकरण विद्यालयका प्र.अ. धनविर वलीले गरेका थिए ।