जेठ २७ काठमाडौ – वैदेशिक राेजगारीकाे सिलसिलामा सात वर्ष अघि पाेर्चुगल पुगेका नुवाकोटका एक युवक बेपत्ता भएको करिब दुई महिनापछि मृत भेटिएका छन।

गत अप्रिल १५ तारीखदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको गैर आवासीय नेपाली संघ एनआरएनए पाेर्चुगलले जनाएको छ।

उनकाे शवको पहिचान शुक्रबार भएको त्यहाँको प्रहरीले एनआरएनए पोर्चुगललाई खबर गरेकाे र अहिले सिलवालको शव स्थानीय अस्पतालमा राखिएको एनआरएनएका पाेर्चुगल अध्यक्ष रविन अधिकारीले बताए।

दुई महिना अगाडि सिलवालकाे परिवारले आफ्नो सम्पर्कमा नआएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल र नेपाली समुदायले त्यहाँको प्रहरीकाे समन्वयमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटो सहितको पम्प्लेट र सूचना टाँसेर अभियान नै चलाएकाे अध्यक्ष अधिकारीले बताए।

आगामी सोमबारसम्म पोर्चुगलमा लगातार सार्वजनिक विदा परेकोले मंगलबारमात्रै यसबारे थप जानकारी लिने र सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिसकेकाे हुदा परिवारबाट शव नेपाल पठाइदिन भनेपछि मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया सकेर शव बुझ्ने प्रक्रिया पूरा गरि शव नेपाल पठाउने अध्यक्ष अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार