जेठ २६ सल्यान – जिल्ला समन्वय समिति सल्यानकाे प्रमुख पदका लागि नेपाली कांग्रेसले दुई जना उम्मेदवारलाई आधिकारिक बनाएर सिफारिस गरेकाे पाइएकाे छ।

जेठ २९ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको क्रममा कांग्रेसबाट आधिकारिक उम्मेदवार भन्दै फरकफरक दुईवटा उम्मेदवारी परेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सल्यानले जनाएको छ।

ती उम्मेदवारी सिफारिस मध्ये कांग्रेस केन्द्रीय समिति मार्फत सभापति शेरबहादुर देउवाकाे दस्तखत सहित बागचौर नगरपालिका -११ का मानबहादुर वलीलाई सिफारिस गरिएकाे र कांग्रेस कर्णाली प्रदेश समितिकाे कार्यालय सुर्खेत मार्फत चलानी नम्बर ७७ बाट बागचौर नगरपालिका -२ का बेलाराम रावललाई आधिकारिक उम्मेदवार भनेर सिफारिस सहित उम्मेदवारी दर्ता गरेकाे मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेले बताए।

एउटै दलबाट एकै पदमा दुई जनालाई आधिकारिक उम्मेदवार भनेर सिफारिस भई उम्मेदवारी दर्ता गरेपछि निर्वाचन अधिकृतकाे कार्यालयले बिहीबार दिउसाे १ बजेभित्र दुई जना मध्ये आधिकारिक काे हाे ? भनी अल्टिमेटम दिदै प्रमाण सहित स्पष्टीकरण माग गरिएकाे मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए।

अन्य दलबाट प्रमुखमा नेकपा एमालेबाट नारायणी खत्री, नेकपा एकीकृत समाजवादीबाट लोक बहादुर डाँगीले उम्मेदवारी दर्ता भएको छ भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट अशविर बुढाथोकी र नेकपा एमालेबाट बेल बहादुर चन्दकाे उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार