जेठ ११ काठमाडौं – सामाजिक संजाल मार्फत विभिन्न प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
विभिन्न सामाजिक संजालहरु वाट्सएप, ईमो, बोटिम, भाइबरबाट आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने र अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी खुलेको प्रहरीले जनाएको छ।
प्रहरी प्रारम्भिक अनुसन्धानको क्रममा लटरीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम शुल्क र उनकाे आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ।
उनी विरुद्ध ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।