जेठ ९ काठमाडौं – कुटपिट गरेर हत्या गरि शव खाेलामा फालेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा मकवानपुर बाग्मती गाउँपालिका-६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका-६ लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव कुहिएको अवस्थामा फेला परेको थियाे। प्रहरी प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्बरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको र हत्या पश्चात सलले बाँधी  शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार