बैशाख १२, सल्यान – सल्यानको बागचौरमा बहालवाला वडाध्यक्षले बागी उम्मेदवारी दिएका छन् ।
बागचौर नगरपालिका १० का वडाध्यक्ष कृष्ण खड्काले स्वतन्त्रबाट पुन: वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटी सदस्य हुन् । ०७४ मा उनी माओवादीबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
माओवादीले यो वडामा अर्कैलाई उम्मेदवारी बनाउने भएपछि रुष्ट बनेका उनले बागी उम्मेदवारी दिएका हुन् ।
यस्तै बागचौरमै एक महिलाले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
बागचौर नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा हेमन्ता बुढाथोकीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
बुढाथोकी विप्लव नेतृत्वको नेकपाको महिला संगठन अनेमासंघ सल्यानकी अध्यक्ष हुन् ।
त्यस्तै बागचौर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा प्रेम बस्नेत (पाएल) ले आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उनले राजनीतिक फोहोरी खेल भएको र यसबाट टाढा रहि नितान्त स्वतन्त्ररुपमा समाज सेवा गर्ने ध्येयले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाको बागचौर नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा टोप बहादुर वलीले उम्मेदवार दर्ता गराएका छन । उनले वडामा वडाध्यक्षसँगै सदस्यहरु सहित संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार