चैत्र १९ सुनसरी – गत १४ गते राती इटहरी उपमहानगरपालिका-२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न रहेकाे अभियाेगमा लक्ष्मी देवी सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ वर्षीया थापा, उनकाे छोरा १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका-७ लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका-८ झापाका ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेकाे १ नम्बरको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

चैत्र १४ गते राती १० बजे थापाको कोठामा बम बिष्फोटको घटना भएको खबर पाए लगत्तै तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पताल पठाई अनुसन्धान सुरु गरेको थियो ।

घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी)लाई इटहरी-२ स्थितमा लुकुछिपि बसेको अवस्थामा र घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते पक्राउ गरेको हो भने उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते नियन्त्रणमा लिएकाे थियाे।

प्रहरीले घटना स्थलबाट बिष्फोट पश्चात क्षतिग्रस्त भएका समानहरुको अवशेष र पक्राउ परेका ब्यक्तिहरुबाट CFN लेखिएको सानो, ठुलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७ थान, रकम पठाएको र जम्मा गरेको IME रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवायल ५ थान समेत बरामद गरेको हो ।

पक्राउ परेका विरुद्ध जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध कसुरमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उदृध गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार