माघ २४ काठमाडौ – सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि निर्वाचन आयोगले आफ्नाे तयारी तिव्र रुपमा गरिरहेकाे छ।

साेमबार आसन्न निर्वाचनको लागि आवश्यक पर्ने भवन, परिवहन साधन लगाएत अन्य भौतिक संरचना तयार गरि सहयाेग गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेकाे छ।

करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्न र त्यसपछि अन्य कार्य सम्पादनकाे लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय तथा निर्वाचन अधिकृतकाे कार्यालयकाे लागि सम्बन्धित स्थानीय तहले कम्तीमा १/१ वटा डेस्कटप कम्प्युटर, ल्यापटप, स्क्यानर र प्रिन्टरकाे सुविधा दिन सक्ने गरि प्रदेश र जिल्लाले सिफारिस गरि माघ मसान्त भित्र आयाेगमा पठाउन पत्राचार गरेकाे छ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे लागि जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा र निर्वाचन अधिकृतकाे कार्यालयकाे लागि प्रत्येक स्थानीय तहमा एक वटा रहने गरि सामुदायिक विद्यालय वा अन्य सार्वजनिक भवनहरु कम्तीमा ३/३ वटा छनाेट गर्न निर्देशन गरेकाे छ। यद्यपि सार्वजनिक उपयुक्त नहुने अवस्था भई निजि भवन प्रयाेग गर्नुपर्ने भए उक्त भवनकाे विवरण र प्रयाेग बापत तिर्नुपर्ने भाडादर समेत खुलाएर पठाउन सक्ने पनि आयाेगले जनाएको छ।

गत स्थानीय तहकाे निर्वाचनमा प्रयाेगकाे लागि आयाेगले दिएका ल्यापटप र प्रिन्टरहरुकाे विवरण पठाउन पनि आयाेगले बताएको छ।

त्यसैगरी सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य बन्द गर्ने जनाएको छ। अब अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्नुपर्ने भएकाले अब नयाँ नामावली संकलन कार्य मङगलबार अर्थात भाेली देखि गर्न बन्द गर्ने आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार