माघ २० दाङ – अनलाईन नेटवर्कीङ मार्फत हुुदै आएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहि प्रलोभन पार्दै ठगी गरेको अभियोगमा तिनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका इरिबाङ घर भई हाल घाेराही बस्ने कमल थापा, रुन्टीगढी गाउँपालिका हाेलेरी घर भई हाल घोराही बुद्धि ग्यारेज नजिकै तोला होटेल संचालन गरि बस्ने दिपक बोहोरा र घोराही रतनपुरका सन्तोष श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनिहरुबाट ठगिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टाेलिले पक्राउ गरेकाे हाे। उनिहरुले सुरुमा १५ देखि २० हजार सम्म बैंक खातामा जम्मा गर्न लगाउने त्यसपछि ४ देखि ६ महिना भित्रमा उक्त रकमकाे दाेब्बर दिने भन्दै प्रलोभनमा पारेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।
नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी यसअघि नै दिएको छ।
क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार गर्ने गराउने दुवैलाई कारबाही गर्ने चेतावनी बैंकले दिएको छ।
नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको स्पष्ट पार्दै भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरू समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बैंकले जनाएको छ।