श्रावण १७ सिन्धुपाल्चोक – यसअघिको बाढीले थलिएकाे हेलम्बु, मेलम्ची लगायतका क्षेत्रमा फेरि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। अहिले चनौटे बजारको बीच भागबाट नदी बगिरहेको छ।
गयराति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।
यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नभएको बताइएको छ। ठूलो पानी परेकाले मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्। शनिबार राति नदीको जलसतह बढेपछि मेलम्ची बजारका बासिन्दा घर छाडेर माथिल्लो क्षेत्र लागेका छन्।
हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ।
तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन खबर गरिसकेको र सबै ठाउँमा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएकाे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलेे बताए ।