मंसिर ७, सल्यान – जि.पी. कोइराला फाउन्डेसनको आयोजना, बागचौर नगरपालिका सल्यानको सहआयोजना तथा व्यवस्थापन र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको सहयोगमा यही मङ्सिर १५ गते बागचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
जिल्लावासीलाई आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले विभिन्न रोगको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नेछ ।
शिविरमा जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, बालरोग, मनोरोग, हाडजोर्नी तथा नशारोग, युरो सर्जरी, छालारोग, नाक, कान तथा घाँटी, आँखारोग र दन्तरोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ। त्यसैगरी भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, ईसीजी र मुटुरोगसम्बन्धी इको परीक्षणसमेत गरिने आयोजकले जनाएको छ ।
शिविरमा परीक्षणपछि थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुरस्थित युनिट–२ अस्पतालमा औषधि, औषधिजन्य सामग्री र खानाबाहेक अन्य उपचार सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले स्वास्थ्य सेवा प्रत्येक नागरिकको सहज पहुँचमा पुर्याउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले आर्थिक तथा भौगोलिक कठिनाइका कारण विशेषज्ञ स्वास्थ्य सेवा लिनबाट वञ्चित जिल्लावासीलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए ।
नगर प्रमुख गौतमले जि.पी. कोइराला फाउन्डेसन, काठमाडौं मेडिकल कलेज र बागचौर नगरपालिकाबीचको सहकार्यबाट जिल्लाका नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाउने अवसर प्राप्त गर्ने बताए । उनले शिविरबाट अधिकतम लाभ लिन सल्यान जिल्लाका सम्पूर्ण नागरिकलाई आग्रह गर्दै शिविरलाई सफल बनाउन सबैको सहयोग र सहभागिताका लागि अपिल गरेका छन ।
यस स्वास्थ्य शिविरबाट विशेषगरी आर्थिक तथा भौगोलिक कारणले सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका ज्येष्ठ नागरिक, महिला, बालबालिका, विपन्न तथा असहाय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
बागचौर नगरपालिकाले सल्यान जिल्लाका सम्पूर्ण नागरिकलाई मङ्सिर १५ गते सञ्चालन हुने शिविरमा सहभागी भई उपलब्ध निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा उपचार सेवाको लाभ लिन आग्रह गरेको छ ।