असोज १०, सल्यान – निरन्तर भइरहेको वर्षा तथा हावाहुरीका कारण सडकमा पहिरो खस्ने, ढुङ्गा झर्ने, सडक भासिने तथा रुख र विद्युतका पोल ढल्नेजस्ता घटना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाभरका सडकमा रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचनाअनुसार २०८३ असोज १० गतेदेखि १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सल्यान जिल्लाभित्रका सबै सडकमा सवारी आवागमन बन्द रहनेछ।
त्यस्तै, राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड भने २०८३ असोज ११ गते दिनको समयमा समेत बन्द रहने जनाइएको छ।
निरन्तरको वर्षाका कारण सडक तथा आसपासका क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यान ९८५७८९००७७ वा १००, ट्राफिक प्रहरी १०३ तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. सल्यान ९८५१२६०७४८ मा सम्पर्क गर्न सकिनेछ।