केही दिनअघिसम्म सहकर्मीहरूसँग हाँसेर बोल्ने, भविष्यका योजना बुन्दै गरेकी सशस्त्र प्रहरी जवान सीता बुढा मगर आज संसारमा छैनन्। नुवाकोटको एक होटलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन। उनको मृत्युले यतिबेला परिवार, आफन्त र सुरक्षाकर्मी वृत्तमै अनेक प्रश्न जन्माएको छ।
रुकुम पश्चिमकी सीता बुढा मगर सशस्त्र प्रहरी बल नं. २० विपद उद्धार गण, सिनामंगलमा दरबन्दी भई हाल बलम्बुस्थित बेस क्याम्पमा कार्यरत थिइन्। उनी जेठ २१ गते घर बिदामा निस्किएकी थिइन् र जेठ २७ गते ड्युटीमा फर्किनुपर्ने थियो। तर उनी घर नपुगी नुवाकोट पुगेको खुलेपछि घटनाले थप चासोको विषय बनेको छ।
प्राप्त विवरणअनुसार उनी नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान बासुदेव थापासँग प्रेम सम्बन्धमा थिइन्। थापा नुवाकोट कारागारमा कार्यरत रहेको र दुवैबीच प्रेम सम्बन्ध रहेको चर्चा छ। स्थानीय स्रोतका अनुसार उनीहरू केही दिनदेखि नुवाकोट कारागार नजिकैको एक होटलमा बस्दै आएका थिए।
त्यही होटलको कोठामा सीता झुन्डिएको अवस्थामा फेला परिन्। अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे। तर उनको मृत्युको वास्तविक कारणबारे अझै स्पष्टता आउन सकेको छैन।
घटनापछि परिवारले यसलाई सामान्य आत्महत्याको घटनाका रूपमा नहेर्न आग्रह गरेको छ। परिवारका सदस्यहरू भन्छन्, “सीताले आत्महत्या गरिन्, कसैले दबाब दियो वा अन्य कुनै कारण थियो ? यसको सत्य बाहिर आउनुपर्छ।”
सीताको जीवन आफैंमा संघर्ष र पीडाले भरिएको थियो। उनले केही वर्षअघि आफ्ना दाजु गुमाइन्। त्यसको एक वर्ष नबित्दै आमाको पनि निधन भयो। लगातारका पारिवारिक पीडाका बीच पनि उनले हिम्मत नहारी आफ्नो जिम्मेवारी निभाउँदै आएकी थिइन्।
आज भने उनै सीता निर्जीव शरीरका रूपमा घर फर्किएकी छन्। उनको मृत्युले परिवारलाई मात्र होइन, चिन्ने जोकोहीलाई स्तब्ध बनाएको छ।
घटनाको वास्तविकता जे भए पनि सत्य बाहिर आउनुपर्ने आवाज बलियो बन्दै गएको छ। यदि यो आत्महत्या हो भने त्यसको कारण सार्वजनिक हुनुपर्छ, र यदि घटनामा कसैको भूमिका वा लापरबाही छ भने दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ भन्ने माग परिवार तथा आफन्तहरूको छ।