रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष नन्नराम बाँठासहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार बिहान करिब २ बजे त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित बिमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठा, मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका–५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर तथा त्रिवेणी गाउँपालिका–२ का ४० वर्षीय मनबहादुर बोहोरा रहेका छन्।
प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ६७ हजार १ सय ५ रुपैयाँ, एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिएका छन्।