झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार Global IME Bank को विराटनगर शाखामा कार्यरत खड्काले आत्महत्याअघि सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक तस्वीर पोस्ट गरेका थिए। उनले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको फोटो सार्वजनिक गर्दै आफू उनीहरूकै कारण यस्तो कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए।
फेसबुकमा उक्त स्टाटस राखेको केही समयपछि खड्का आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना साेमबार साँझ करिब ५ बजेतिर भएको बताइएको छ।
मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर मुचुल्का तयार गर्दै अनुसन्धान सुरु गरेको छ।
दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रहरीले सामाजिक सञ्जालमा गरिएको पोस्ट, घटनाको कारण र सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। उनी यसअघि बैंकको आन्तरिक कारबाहीमा समेत परेको खुलेको छ।