कीर्तिपुर मा केही दिनअघि भएको विपिन घिमिरे हत्या प्रकरणमा फरार रहेका मुख्य आरोपी सुजन शाही अन्ततः प्रहरी नियन्त्रणमा परेका छन्। उनलाई पक्राउ गर्न प्रहरीले २ राउण्ड हवाई फायरसहित गोली चलाएको जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का का अनुसार शाही चोभार क्षेत्रमा लुकेर बसेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। चोभार जाने सडकखण्डमा भेटिएका शाहीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि जाइलाग्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका शाहीको खुट्टामा चोट लागेको छ। उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनैले गुल्मीका विपिन घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए।
गत केही दिनअघि कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा भएको खुकुरी प्रहारमा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका, गुल्मीका विपिन घिमिरेको उपचारकै क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका आरोपीको खोजीमा प्रहरी सक्रिय थियो।