सल्यानमा प्रेम सम्बन्ध देखि पारिवारिक विवाद र रहस्यमय मृत्यु जोडिएको एक घटनामा नयाँ रहस्य खुलेको छ। दार्मा गाउँपालिका–६ भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्दको हत्या आरोपमा कुमाख गाउँपालिका–५ तिमिलकाँडाका बाबु–छोरी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।

उक्त घटनामा प्रहरीले ६५ वर्षीय दलविरे घर्ती र उनकी ३९ वर्षीया छोरी शर्मिला घर्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गत फागुन ३० गते दिउँसो कुमाख–५ ठूलाखोलास्थित खोल्सामा चन्दको शव छेदबिच्छेद अवस्थामा फेला परेको थियो। अनुहार र बाँया खुट्टा नभएको अवस्थामा शव भेटिएपछि घटना झनै रहस्यमय बनेको थियो।

प्रेम सम्बन्धले निम्त्याएको विवाद

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतक चन्द र शर्मिला घर्तीबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। चन्द करिब ६ महिनादेखि शर्मिलाकै घरमा बस्दै आएका थिए। त्याे शर्मिलाकाे माइतीघर हाे। शर्मिला भने श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइतीमा बस्दै आएकी थिइन्।

चन्द श्रीमती छाडेर प्रेमिकासँग बसेको थाहा पाएपछि आफन्तले प्रहरीको सहयोगमा उनलाई घर फर्काएका थिए। तर, केही समयपछि उनी पुनः शर्मिलासँगै बस्न पुगेपछि हत्या सम्म हुन पुगेको खुलेको छ।

बेपत्ता भएपछि भेटियो शव

शर्मिलासँग बस्दै गरेका बेला चन्द एकाएक बेपत्ता भए। परिवारले खोजी गर्ने क्रममा केही दिनपछि उनको शव खोल्सामा फेला परेको थियो। पोष्टमार्टम गर्दा शव सडिसकेको अवस्थामा भेटिएकाले सुरुमा भीरबाट लडेर मृत्यु भएको आशंका गरिएको थियो। तर परिवारले हत्या भएको दाबी गर्दै जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका बाबु–छोरीले प्रारम्भिक बयानमा चन्दले आफ्नै आँगनमा आत्महत्या गरेको बताएका छन्। त्यसपछि आफूहरू हत्या आरोपमा फस्ने डरले शव खोल्सामा फालेको उनीहरूको बयान छ।

हाल घर्ती बाबु–छोरीलाई अदालतमार्फत कारागार चलान गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार