प्युठानमा शिकारीले फायरिङ गरेको गाेली डेटिङ बसेका जाेडी माथि लाग्दा किशोरको ज्यान गएको छ भने किशोरी घाइते भएकी छन्।
गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित चुपाल सामुदायिक वनमा गत चैत २९ गते राति करिब पौने ११ बजे शिकार खेलेर फर्किने क्रममा जंगली जनावर भएको आशंकामा वीरेन्द्र केसीले गोली हानेका थिए । जंगली जनावर बँदेल ठानेर चलाइएको गोली सीधै डेडटिङमा बसेका जाेडि माथि लाग्दा नौंबहनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियारको ज्यान गएको हो।
प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जना जंगलमा अवैध रूपमा शिकार खेल्न गएका थिए। टाढाबाट बँदेल देखिएको अनुमान गर्दै केसीले गोली प्रहार गरे। तर, जब उनीहरू नजिक पुगेर हेरे, गोली लागेर परियार र सोही स्थानकी १८ वर्षीया किशोरी घाइते अवस्थामा भेटिएका थिए।
घटनापछि तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल पठाइएको थियो। उपचारकै क्रममा चैत ३० गते परियारको मृत्यु भएको हाे। घाइते किशोरीको अवस्था भने अहिले खतरा मुक्त रहेको बताइएको छ।
घटनामा संलग्न केसीलाई चैत ३० गते नै पक्राउ गरिएको छ भने उनीसँगै जंगल गएका अन्य ३ जनालाई सोमबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। उनिहरुले लुकाएर राखेका २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ। अहिले चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दा र हातहतियार मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।