असार ११, सल्यान – सिद्ध कुमाख गाउँपालिकाको १७औं गाउँसभा अधिवेशनअन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ। गाउँसभा सभाध्यक्ष भरत गिरीको अध्यक्षतामा मंगलबार भएको दोस्रो बैठकमा उपाध्यक्ष रामबहादुर बस्नेतले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेका छन्
बस्नेतले प्रस्तुत ३५ करोड ३७ लाख रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रमलाई गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटमा ७६.६७ प्रतिशत अर्थात २७ करोड १२ लाख ३० हजार चालू खर्चतर्फ र २३.३३ प्रतिशत अर्थात ८ करोड २४ लाख ७० हजार पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
शाखागत बजेट विवरण यस प्रकार छ:
- गाउँपालिका कार्यालयतर्फ: ९ करोड ९० लाख ९१ हजार ४३८ (चालु: ६ करोड ५९ लाख ४१ हजार ४३८, पुँजीगत: ३ करोड ३१ लाख ५० हजार)
- शिक्षा, युवा तथा खेलकुद: २ करोड ५८ लाख १० हजार
- स्वास्थ्य: १ करोड ४५ लाख ३० हजार
- कृषि: २६ लाख ३० हजार
- पशुपन्छी विकास: २४ लाख ९० हजार
- महिला तथा बालबालिका: २० लाख
- दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (साझेदारीमार्फत): ८० लाख ११ हजार ५६२
- वडागत कार्यक्रम: १ करोड ५ लाख
- संघीय तथा प्रदेश सरकारको शसर्त कार्यक्रम: १८ करोड ८६ लाख ३७ हजार
बैठकले आगामी वर्ष कार्यान्वयन हुने “नीति तथा कार्यक्रम २०८२”, “विनियोजन विधेयक २०८२”, “आर्थिक विधेयक २०८२”, र “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२” लाई समेत सर्वसम्मत पारित गरेको छ।
स्थानीय विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खानेपानीमा केन्द्रित बजेटले गाउँपालिकाको समग्र प्रगति र जनउत्तरदायिता मजबुत हुने विश्वास व्यक्त गरिएको छ।