बाँकेकी निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खान नेतृत्वकाे अधिकारकर्मी र सरकारबीच आन्दोलनको ८१ दिनपछि सहमति भएको छ।

मंगलबार गृह मन्त्रालयले रूबी खानको टोलीलाई दिउँसो मन्त्रालयमा बोलाएर वार्ता गरेको थियो। माग सम्बोधन हुने भएपछि अपरान्ह्र सरकारकाे तर्फबाट गृह मन्त्रालयका प्रवक्ता एव‌ं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र अधिकारकर्मीकाे तर्फबाट रूबी खानबीच माइतीघर मण्डलमा विभिन्न ३ बुदे सहमति हस्ताक्षर गरि द्विपक्षीय सहमति भएको खानले बताइन।

जसअनुसार निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरी सँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्ष बीच मिति २०८१ आषाढ १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई पत्राचार गर्ने, विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाईने र सहमति अनुसार आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गर्ने र आन्दोलनरत पक्षले आजैबाट आन्दोलन अन्त्य गर्ने सहमति भएको छ।

मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मी लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री समेत बन्न भ्याए। बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद निर्वाचित भएका थिए। मन्त्री बनेपछि झन पेचिलाे रुपमा आवाज उठेपछि र लुम्बिनी सरकारकाे आलोचना समेत हुन थालेपछि निर्मला प्रकरणकाे मुख्य आराेप बाेकिरहेका कुर्मिले राजिनामा दिएका थिए।

कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ। माग सम्बोधन भएसँगै उनीहरूले प्रदर्शन स्थगित गर्ने भएका छन्।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार