नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता अजयवावु शिवाकोटीलाई प्रहरीले झुक्किएर हुलमुल संगै पक्राउपछि रिहा गरेको छ।
बाँकेकी निर्मला कुर्मीकाे न्याय माग्दै बालुवाटार पुगेकी रूबी खान सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिने क्रममा शिवाकोटी पनि त्यहि हुलमा परेका हुन।
कुर्मीको मुद्दा अदालतमा लैजानुपर्यो भन्दै प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेका अभियन्ता खानसहित ६ जनालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियाे। उनीहरूलाई प्रधानमन्त्री कार्यालयको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको महिला अधिकार मञ्जका सूचना अधिकारी मोहमतशेर बागवनले जानकारी दिए।
उनकाअनुसार रूबी खान, ललिता थारू,गिता चमार, बानी चमार, विजय सिवाकोटी र लक्ष्मण श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका विजय अजयबाबुका भाइ हुन।
नारा जुलुस गर्न नपाइने क्षेत्रमा गएको भन्दै प्रहरीले अभियन्ताहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
निर्मला कुर्मीको कानुनी प्रक्रिया अगाडि बढ्नुपर्यो भन्दै रूबीखानसहित १३ जना बाँकेका अभियन्ताहरू ६८ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेकाे बताउदै भने ‘म बाटोमा हिँड्दै थिए। बालुवाटार तीन नम्बर गेट अगाडि तीन चार जना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो । निर्मला कुर्मी न्यायिक आन्दोलनमा रहेका रूबी खान लगायत ४ जना महिलाहरु र एकजना भिडियो खिच्दै थिए। त्यो भिडियो खिच्ने मेरो आफ्नै भाइ विजयबाबु शिवाकोटी रहेछ। म ओर्लेर उसलाई हेर्दा के गरेको भन्न जाँदाखेरि पुलिसले सबैलाई समात्यो । अनि पुलिसले मलाई पनि समात्यो’ नेता शिवाकोटीले भने।´ ‘मैले मेरो परिचय दिँदा पनि मलाई आन्दोलनकारी सम्झेर समात्यो । मैले मेरो परिचय दिए तर पुलिसले छाडेन । पकडेर उनीहरुसहित मलाई पनि मालीगाउँ लग्यो।’ पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल ल्याएको समेत उनले बताए ।
काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले हुलमुलमा परेर शिवाकोटीलाई नियन्त्रणमा लिएको तर पहिचान खुलेपछि अहिले छाडि सकिएको बताए।