हाल चर्चामा रहेका एक रोल्पाली लेखक तथा साहित्यकार जसका दैनिक ३/४ ओटासम्म लेख रचनाहरु प्रकाशन हुँदैआएका छन्, उनी हुन् रोल्पाको खुंग्रीका अमर अधिकारी। दैनिक यति धेरै संख्यामा लेख रचनाहरु प्रकाशन गरेर कीर्तिमान कायम गर्ने तरखरमा रहेका छन् अमर। उनका जीवन कहानी रोचक अनि भावुक छन्। उनका जीवनका उतार चढावका कहानीहरु समेटिएको उनको आत्मकथा संग्रह ‘ओगिल्जा’ प्रकाशन भएको चार महिनामै सकिएको छ। उनको उक्त पुस्तक ‘ओगिल्जा’ नै बुढेसकालमा काम पाउनको लागि एउटा प्रमाणपत्र बनेको छ। उनका लेखहरु राजधानीका राष्ट्रियस्तरका सञ्चार माध्यमहरुका अलावा राजधानीवाहिरका सञ्चार माध्यमहरुबाट समेत प्रकाशन हुँदैआएका छन्। दाङको जनसहारा तथा रोल्पाका रेडियो होलेरी तथा मालश्री खबरबाट पनि निरन्तर रुपमा उनका लेखहरु प्रकाशन हुँदैआएका छन्। लेखकले राप्ती भेगका रैथाने उपज, प्राकृतिक सम्पदा, पर्यटन, धार्मिकस्थल र खानी बारेमा पनि लेख्दैआएका छन्। गुगलमा उनको नाम खोजी गर्दावित्तिकै उनका तमाम लेख-रचनाहरु देख्न सकिन्छ। उनले कुनै कुनै सञ्चार माध्यमहरुबाट लेखवापत पारिश्रमिक पनि पाउनेगरेका छन्। तर पारिश्रमिकको माग गर्ने बानी भने उनमा छैन।

गत ८ गते रोल्पाको होलेरीमा आयोजित संस्कृति पर्यटन महोत्सवको प्रमुख अतिथिको भूमिका निर्वाह गरेका अमर १० गते सुलिचौरको रेडियो सभ्यतामा अन्तर्वार्तापछि ११ गते लिबाङ पुगेका थिए भने १२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित आफ्नै साहित्यिक संस्थाको वार्षिकोत्सव कार्यक्रम भेटाउनका लागि लिबाङको कार्यक्रममा एकघण्टा पनि विताउन भ्याएनन्। उता सल्यानको कपुरकोट र रोल्पाकै घर्तिगाउँको निमन्त्रणा वमोजिम कार्यक्रममा सहभागी हुनपाएनन्। रोल्पा रहँदा आफ्नै जन्मथलो खुंग्रीमा समेत पाइला टेक्न नपाएका अमरलाई केही महिना यता भ्याई न भ्याई छ। उनी राती पाँच घण्टा मात्र सुत्नुपर्ने अवस्था छ।

उनले सरकारी सेवा अन्तर्गत १६ वर्ष संस्थान सेवा र २३ वर्ष निजामती सेवा गर्ने क्रममा भोगेका दुःखका कथाहरु उनका पुस्तक तथा लेखहरुमा झल्किन्छन्। सरकारी सेवाको दौरानमा बाह्रवर्ष सिंहदरबारमा विताएका अमर देशको बिग्रँदो अवस्थाबाट निकै चिन्तित छन्।

संस्थान सेवामा रहँदा दुःख दिनका लागि सरुवा गर्नखोज्नेहरुका बारेमा तथा निजामती सेवामा रहँदा कार्यालय नै नभएको ठाउँमा सरुवा भएपछिका तनाव र लेखापालहरुका बदमासीहरुले गर्दा विभिन्न सुविधाहरुबाट बञ्चित अमरका कहानीहरु ‘ओगिल्जा’ पुस्तकले छर्लंग पारेको छ। ४० वर्षको शहर बसाइले उनलाई निकै पिरोलेको कुरा उनका लेखहरुमा झल्किन्छन्। किन कि शहरमा बस्नु भनेको प्रकृतिवाहिर रहनु हो भन्ने कुरा उनको बुझाई छ। गाउँ फर्केर केही वर्ष आयु बढाउने सोँचमा रहेका अमर आगामी दिनहरुमा गाउँघरमै रम्न चाहन्छन्।

उनका तीन पुस्तकहरुमध्ये बालकविता संग्रह ‘ईन्द्रेणी’ २०६१ सालमा, आत्मकथा संग्रह ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरु’ २०८१ सालमा प्रकाशित भएका कृतिहरु हुन् भने रोल्पाली सेरोफेरोको ‘साइली सलल’ गीत २०७९ मै रेकर्ड भई युट्युबमा समेत उपलब्ध छ। उनका अनुसार आगामी छवटा प्रकाशनका लागि पाण्डुलिपिहरु तयार भैसकेका छन् र कुनै कुनै तयार हुँदैछन्। खुंग्रीराज्यको इतिहास, अमर-वाणीहरु, लघुकथा संग्रह, मुक्तक संग्रह र अन्य पुस्तक प्रकाशनका लागि प्रकाशन गृहको खोजीमा छन् उनी। केही गीतहरु रेकर्डिङका लागि कुरा भैरहेको बताउने अमरको स्वर्गद्वारी प्रभुमहाराजको भजन पनि तयार छ र सो पनि रेकर्डिङका लागि कुरा भैरहेको उनी बताउँछन्।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार