इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ।

लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल पुगेका नेपाली विद्यार्थीहरुले गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन् । ४ जना घाइते भएका थिए।

उक्त आक्रमणमा मारिएका १० जनाको परिवारलाई इजरायलले क्षतिपूर्ति स्वरूप मासिक भत्ता दिने भएको हो । नेपालका लागि इजरायली राजदूत हनान गोदेरले क्षतिपूर्ति बापत मासिक भत्ता उपलब्ध गराउन लागेको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएका हुन् ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँगको भेटका क्रममा राजदूत गोदरेलले गाजा क्षेत्रमा जारी द्वन्द्वको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरूको परिवारलाई क्षतिपूर्ति बापत मासिक रूपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारले निर्णय गरेको बताएका छन।

उक्त आक्रमणमा परि कैलालीकाे घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपाली, कैलालीकाे भुनियाँ-३ का आशिष चौधरी, दार्चुलाको लेखम-५ का दिपेशराज बिष्ट, धनुषाको सपही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटीकाे पछन्ली-३ का राजन फुलरा, डोटी लमीखाल-८ का पदम थापा, सल्यानको शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन-४ का लोकेन्द्रसिं धामीको मृत्यु भएको थियाे।

आक्रमणमा परि गोरखाको गोर्खा-८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर-९ का धनबहादुर चौधरी,सल्यानको शारदा-२ का विधान सेजुवाल र दाङको दंगीशरण-३ का प्रविण डाँगीको घाइते भएका थिए।

नेपाल सरकारले पनि गत असोज २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको थियाे।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार