रोल्पा अस्पतालले इतिहासमै सबैभन्दा बढी अंक प्राप्त गरेको छ ।
न्युनतम सेवा मापदण्डको मूल्यांकनका आधारमा गत २८ र २९ मंसिरमा भएको मूल्यांकन तथा समीक्षापछि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डमा ८५ अंक अर्थात `डिस्टिङ्गसन्´ प्राप्त गरि अस्पतालले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको अस्पतालले जनाएको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नियमित रुपमा वर्षमा २ पटक गरिने मूल्यांकनमा अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको नेतृत्वमा निर्देशनालयका कौशल भण्डारी, अस्मिता नेपाल र सन्देश पौडेल सहितको चार जनाको टोलीले उक्त मुल्यांकन गरेको हाे।
आर्थिक वर्ष २०८०/०८१ का लागि यसअघि जेठमा भएको मुल्यांकनमा राेल्पा अस्पतालले जम्मा ६९% मात्रै अंक प्राप्त गरेको थियाे। ८ महिनापछि अस्पतालले थप १६% सुधारउन्मुख अंक प्राप्त गरेर इतिहासमै पहिलो रेकर्ड कायम गरेको हाे।
समीक्षा कार्यक्रममा अस्पताल तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लोकरत्ना ज्ञवालीले अस्पतालको अवस्थाका बारेमा प्रस्तुती दिदै आफूहरुलाई आवश्यक जनशक्ति पर्याप्त नभएकाे तथा भौतिक पुर्वाधारहरुकाे पनि उतिकै चुनौतीका बिच अहिलेको सेवालाई अझ पर्याप्त र प्रभावकारी बनाउन अहिले सार्वजनिक भएको नतिजाले आफ्ना कर्मचारी साथीहरुको मेहनतलाई न्याय गरेको र आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्ने बताइन।
अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले अस्पतालको सुधारमा डा. ज्ञवाली नेतृत्वको टोलीले धेरै मेहनेत गरेकोले याे सफलता प्राप्त भएको बताए।
यसअघि भरतपुर अस्पताल चितवन सेवारत डा.ज्ञवाली गत बैशाख देखि राेल्पा अस्पतालमा सरुवा भएर आएकि हुन। दुर्गम क्षेत्रमा केही गरौ भन्ने लागेर नै आफुले राेल्पा सरुवा मिलाएकाे जनसहारासंग बताइन्।
समिक्षा कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली, प्रमुख जिल्ला अधिकारी परमान्नद घिमिरे, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी पत्रकार तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।