रोल्पाको रुन्टीगढी गाउँपालिकाले कृषि उत्पादनलाई व्यवस्थीत गर्दा भारतको सीमावर्ती क्षेत्रबाट समेत खरिदकर्ताहरु स्थानीय हाटबजार पुगेर तरकारी खरिद गर्न थालेका छन ।
आफुले उत्पादन गरेको तरकारी भारतको सीमावर्ती क्षेत्र सम्म विक्री हुन थालेपछि तरकारीले बजार नपाएर दिक्क भएका यहाँका किसानहरुको आम्दानीको श्रोत समेत बढ्दै जान थालेको छ । जिल्लामै अत्याधिक तरकारी खेतीहुने रुन्टीगढी गाउँपालिकाले कृषि हाटबजार व्यवस्थापन गरेसंगै स्थानीय कृषकहरुले दैनिक ६५ हजार किलोग्राम सम्म कृषि उपज विक्री वितरण गर्दै आएका छन । तरकारी बिक्रीबाट यहाँका किसानहरुले दैनिक ७० लाख रुपैँयाँ सम्म आम्दानी गर्न थालेका छन । गाउँपालिकाले व्यवस्थापन गरेको होलेरी हाटबजार गत आषाढ २७ गते देखी संचालनमा आएको हो ।
यहाँको हाटबजारको कहानी पनि लामै छ । तरकारीको निकै राम्रो सम्भावना भएको यस क्षेत्रमा २०५४ सालमा नै हाटबजार संचालन गर्ने भनियो । तत्कालिन सखी गाविसको पहलमा केही दिन हाटबजार सुरुवात पनि भयो तर त्यसले निरन्तरता पाउन सकेन । दशवर्ष लामो सशस्त्र द्धन्दले मानिसहरु भेला जम्मा हुने र आवतजावत गर्ने अवस्था खुम्चदै गएपछि यसले सार्थकता पाउन सकेन । २०६३ सालको शान्ति प्रकृया पछि सहज अवस्था आयो । पुनःगाउँविकास समितिहरुले हाटबजार संचालन गर्ने योजना अघि सारेपनि जनप्रतिनिधि बिहिन गाउविकास समितिले जनता संग जोडिएको काम गर्न सक्ने अवस्था थिएन ।
२०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारले पनि हाटबजार संचालन गर्न केहीपहल गरे पनि सार्थक परिणाम भने हासिल भएन । पछिल्लो पटक २०७९ सालमा निर्वाचित स्थानीय सरकारले आफ्नो कार्यकालको दोश्रो वर्षमा हाटबजार संचालनमा ल्याएको हो । विगतका गाउँविकास समितिहरुले हाटबजार लगाउने भन्दै केही संरचना पनि बनाएर २/४ दिन हाटबजार संचालन गरे पनि यसले निरन्तरता पाउन सकेको थिएन। अहिले भने दिगो ढंगले अघि बढिरहेको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले बताए।
रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा सुरु गरेको हाटबजारले यहाँका सयौं व्यवासयिक कृषकहरु तरकारी बिक्री गर्न सहज भएको छ । आफुले उत्पादन गरेको तरकारी विगतमा विचौलियालाई सस्तो मूल्यमा उधारोमा विक्री गरेर ठगिएका उनीहरु अब भने सिधै व्यापारीलाई तरकारी बेच्दा बिचौलियाबाट ठगिनु परेको छैन । विगतमा हाटबजार नहुदा बिचौलियाहरु घर घरमा आएर सस्तो मूल्यमा तरकारी लिएर जान्थे र ६/७ महिना सम्म पनि पैसा दिदैनथे रुन्टीगढी गाउँपालिका -६ का कृषक युवराज चन्द बताउँछन्। एकजना बिचौलियाले म संग ३ वर्ष अघि लगेको तरकारीको ८ हजार रुपैयाँ अझै नदिएको दुखेसो चन्दकाे छ।
गाउँपालिकाले कृषि हाटबजारको व्यवस्थापन गरे संगै युवाहरु पनि कृषिमा आकर्षित हुन थालेका छन । बेरोजगार रहेको भन्दै रोजगारीमा खाडी पुगेका युवाहरु पनिआफ्नै खेतबारीमा रम्न थालेका छन । ११ वर्ष दुबइ बसेर ७ वर्ष अघि स्वदेश फर्किएका रुन्टीगढी गाउँपालिका -९ का चन्द्र प्रकाश महरा अचेल कृषिकर्ममा रमाउन थालेका छन । दुबईबाट स्वदेश फर्के यता उनि कृषिकर्ममा रम्न थालेका छन। अहिले ३० रोपनी जग्गामा तरकारी खेती गरेको छु महरा भन्छन्। तरकारी विक्रीबाट सिजनमा २० लाख सम्म कमाइ हुन्छ महराले भन्छन् । वन्दा, गोभि, सीमि, टमाटर, खुर्सानी जस्ता तरकारी बेच्न उनि हरेक हप्ताको मंगलबार र शनिबार होलेरी जाने गरेको बताउछन । होलेरीमा रहेको हाटबजारमा तरकारी बेचेर आएको पैसा बैंकमा जम्मा गरेर घर फर्कन्छु उनी भन्छन्।
हाटबजारमा स्थानीय कृषकहरुले दैनिक ६५ हजार किलो ग्राम सम्म कृषि उपज विक्री वितरण गर्दै आएका छन । हरेक हप्ताको मंगलबार र शनिबार दुई दिन लाग्ने हाटबजार तरकारीको अत्यधिक माग भएसंग अहिले मंगलबार, बिहीबार र शनिबार हप्तामा तीन दिन लाग्ने गर्दछ । गाउँपालिका भित्रका ९ वटै वडाका किसानहरुले कृषि उपजविक्री वितरण गर्ने गर्दछन । किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्न भारतका साथै नेपालका विभिन्न जिल्लाका व्यापारीहरु होलेरी पुग्ने गर्दछन । तरकारी अभाव हुदा भारतको रुपैडियाबाट समेत व्यापारीहरु आउछन भने नेपालका दाङ, नेपालगंज, कैलाली, भैरहवा र बुटवलका व्यापारीहरु सधै जसो कृषि उपजखरिद गर्न सधै जसो होलेरी आउने गरेकाे रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले बताए।
हाटबजार लागेको दिन किसानहरुले कम्तिमा ३५ हजार र बढीमा ६५ हजार किलो ग्राम सम्म तरकारी विक्री गरेको अभिलेख रहेको गाउँपालिका अध्यक्ष पुनले बताए। होलेरी हाटबजारको तरकारी ताजा हुने भएकाले आफु हरेक शनिबा र मंगलबार तरकारी खरिद गर्न आउने गरेको दाङ लमहीका तरकारी व्यापारी सुदन कार्कीले बताए । यहाँबा खरिद गरेर लगेको तरकारी प्यूठान, सुलिचौर तथा लिवाङ सम्म जान्छ कार्कीले भन्छन।
हाटबजारको निरन्तरता किसानहरुको हातमा रहेको भन्दै रुन्टीगढी गाउँपालिकाले किसानहरुका लागि विभिन्न अनुदानका कार्यक्रम पनि अघि सारेको छ । गाउँपालिकाले मलका साथै विउमा ५० प्रतिशत अनुदान दिने गरेको छ । कृषकहरुलाई बिमा गर्न प्रोत्साहन गर्नुको साथै बिमा समेत निशुल्क गर्दै आएकाे छ। गाउँपालिकाले तरकारी उत्पादक कृषकहरुबाट लिदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकहरुले स्थानीय करको रुपमा तरकारी कर बुझाउदै आएका थिए । तरकारी उत्पादक कृषकहरुले यस अघि प्रतिकिलो पचास पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । अघिल्लो वर्षको आषाढ १० गते सम्पन्न गाउँपरिषदमा पेश भएको नीति तथा कार्यक्रममा कृषकहरुले तिर्दै आएको सो कर नलिने निर्णय गरेको हो । उक्त निर्णय आर्थिक वर्ष ०७९/०८० को साउन १ गते देखी लागु भएको गाउँपालिकाको भनाई छ ।
यस क्षेत्रका कृषकहरुले ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने गर्दछन । आम्दानीकाे मुख्य श्रोतको रुपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाईदै आएको कर नलिने निर्णय गरेका हौ अध्यक्ष पुनले भने । तरकारी खेती गर्ने कृषकहरु आफ्नो पेशा प्रति अझै उत्साहित होउन भनेर गाउँपालिकाले उनीहरुवाट लिदै आएको स्थानीय कर हटाएको हो गाउँपालिका अध्यक्ष पुनले भने। गाउँपालिकाको यो निर्णय संगै यस क्षेत्रका कृषकहरुले ठूलो राहात पाएका छन । रुन्टीगढी गाउँपालिकामा टमाटर, वन्दा, खुर्सानी, भान्टा,सिमी जस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ ।
स्थानीय करको चपेटामा परेका उनीहरुले समय समयमा तरकारीले बजार नपाउदा क्षती समेत व्यहोर्ने गरेका छन । तरकारीको भाउ कहिले काही अत्यधिक कम हुदा लगानी नै नउठ्ने तर कर भने तिर्नु पर्ने समस्या थियो गाउँपालिकाको यो निर्णयले कृषकलाई सहज भएको होलेरी हाट बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश महराले भन्नु भयो । समय समयमा तरकारीको वजार मुल्यमा गिरावट आउदा कृषकहरुले ठूलो मात्राको तरकारी गाई भैसीलाई खुवाउन वाध्य हुने गर्दछन । किसानको उत्पादनमा प्राविधिक सहयोग गर्न गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिकको व्यव स्था गरेको छ । प्राविधिकहरु कृषकको खेतवारीमा पुगेर प्राविधिक सहयोग गर्ने गर्दछन । जसले यहाँका किसानहरुलाई बालीनालीमा रोगकिरा लाग्ने समस्याबाट धेरै हदसम्म उन्मुक्ती मिलेको रुन्टीगढी -७ झेनामकी अमृता रोकाले बताइन् । प्राविधिक सहयोग पाउनु अघि बालीमा रोगकिरा लागेर उत्पादन खेर जाँदा धेरै नोक्सानी व्यहोर्नु पथ्र्यो अहिले त्यस्तो समस्या टरेको छ रोका भन्छिन्।
रोल्पाको रुन्टीगढी गाउँपालिकाका सबै वडा तथा त्रिवेणी गाउँपालिकाको बुढागाउँ, नुवागाउँ, जुगार लगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ । यहाँका कृषकको आम्दानीको मुख्य श्रोत तरकारी खेती भए पनि स्थानीय सरकारले भने तरकारी खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न नसकेको भन्दै आलोचित हुदै आएको थियो । रुन्टीगढी गाउँपालिका सरकारले तरकारी उत्पादक कृषकको पक्षमा गरेको यो निर्णयको सबै क्षेत्रबाट प्रशंसा भएको छ ।
तरकारी खेतीवाट आमदानी हुन थाले संगै कृषकहरुले लिएको ऋण पनि नियमित भुक्तानी हुन थालको छ । बैंक तथा वित्तिय संस्थाहरुवाट ऋण लिने र कृषि उपज विक्री वितरण नहुँदा वैकको किस्ता समेत रोकिदै आएकोमा अहिले भने वैंक र वित्तिय संस्थाहरुको ऋण समेत नियमित तिरिरहेका छौ स्थानीय माधव रेउलेले बताए। तरकारी विक्री नहुदा पहिले पहिले वैंक र माईक्रो फाइनान्सको किस्ता रोकिन्थ्यो, अहिले भने नियमित किस्ता तिदै आएको छु रेउले भन्छन् ।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गर्ने,एक पालिका एक कोल्ड स्टोर निर्माण गर्ने,प्रत्येक वडामा तरकारी संकलन केन्द्र स्थापना गर्ने,उत्पादीत कृषिउपजको बजार मूल्य नभएको अवस्थामा किसानहरुलाई क्षतीपूर्ती दिने गरि रुन्टीगढी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गरिएको छ ।