बैशाख ४ रोल्पा – एक वडाध्यक्षकाे घरबाट पेस्तोल र गाेली बरामद गरिएको छ।

गंगादेव गाउँपालिका वडा नम्बर -४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली `विपिन´ काे घरबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गाेलीबरामद गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टाेलीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम सारु मगरले बताए।

उक्त काेठाबाट ’मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिन सहित बरामद भएको हाे। पक्राउ परेका वली विरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग प्रहरी नियन्त्रणमै थिए। अहिले पेस्तोल फेला परेपछि हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाइएर अनुसन्धान थालिएको डिएसपी मगरले बताए।

वली विरुद्ध जिल्ला प्रशासन कार्यालय राेल्पाबाट १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरेकाे छ। सरकारी गाडी ताेडफाेड गरेको अभियाेगमा भएकोमा थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा मुद्दा चलाइ अनुसन्धान भइरहेको डिएसपी मगरले बताए। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार