भदौ २० सल्यान – नेपाली कांग्रेस सल्यानमा पार्टीकै जिल्ला देखि केन्द्रिय महाधिवेशन सहित गत स्थानीय तह निर्वाचनमा देखिएकाे अन्तर द्वन्द अहिले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्म आउदा झन् पेचिलाे बनेकाे छ।

दुई निर्वाचन प्रदेश सभा रहेकाे सल्यानमा प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस गर्दा देखि नै विवादका बिच प्रदेश सभाले जिल्लामा सिफारिस गरेसंगै जिल्लामा आएर झन दरारकाे अवस्था सिर्जना भएको छ भने अब याे अवस्थाले सल्यान कांग्रेस माथि प्रदेश कार्यसमित र केन्द्रीय समिति निर्णयबाट एक समुह विक्षिप्त हुने र परिणाम थेग्न नसक्ने गरि भार आइलाग्ने प्रष्ट छ।

अहिले उम्मेदवार सिफारिसकै समयमा देखाएको अन्तर द्वन्द्वकाे फल अन्य दललाई सजिलै प्राप्त हुने निश्चित जस्तै छ। किनभने यस्तै परिणाम सल्यान कांग्रेसले गत स्थानीय तहकाे निर्वाचनमा समेत सामना गरिसकेको छ।

अहिले सल्यान कांग्रेसले दुईवटा समुहबाट फरकफरक उम्मेदवारकाे नाम सिफारिस गरेर प्रदेश कार्यसमितिमा सिफारिस गरेको छ।

एउटा समुहबाट जिल्ला सभापति केश बहादुर विष्ट सहितको टिम छ भने अर्काे समुहबाट जिल्ला उपसभापति चक्र देवकाेटाकाे नेतृत्वमा पुर्व जिल्ला सभापति धुर्व पुरी, राजेन्द्र बहादुर शाह, डिल्लीराज रेग्मी लगायतकाे समुह छ।

जिल्ला सभापति विष्टकाे नेतृत्वकाे टिमबाट प्रतिनिधि सभाकाे सिफारिसमा प्रत्यक्षतर्फ केश बहादुर विष्टकाे नाम एकल सिफारिस भएकाे छ भने समानुपातिकमा गणेश चन्द, महेश मल्ल, महेन्द्र श्रेष्ठ, धुर्ब बहादुर मल्ल, शंकर श्रेष्ठ, कमला अधिकारी सिफारिस भएका छन।

सभापति विष्ट तर्फबाट प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ सन्ताेष केसीकाे नाम एकल सिफारिस गरिएकाे छ छ भने समानुपातिकमा शंकर श्रेष्ठ, बिरबहादुर सेजवाल, महेन्द्र कुमार श्रेष्ठ, कमला अधिकारी, साबित्रा राई, देबिसरा केसि, प्राणकुमार राई, मित्रलाल सार्की, क्षेत्रबहादुर बिकको नाम सिफारिस भएको छ ।  प्रदेश (क) मा प्रत्यक्षतर्फ गोरख केसी, सुरेश चन्द र डिल्ली बुढाथोकीकाे नाम सिफारिस भएकाे छ ।

अर्को समूह जिल्ला उपसभापति चक्र देवकाेटा मार्फत सिफारिस गरेकाे नाममा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पुर्व शिक्षा राज्य मन्त्री समेत रहेका राजेन्द्र बहादुर शाह र पुर्व जिल्ला सभापति धुर्वराज पुरी छन भने समानुपाति तर्फ डिल्लीराज रेग्मी सिफारिस भएका छन । अब यी दुवै समुहको सिफारिस मध्येका उम्मेदवार प्रदेश र केन्द्रीय समितिले अनिवार्य एक छनाेट गर्ने छ।

यतिबेला दुवै समुह छुट्टाछुट्टै निर्णय सहितका उम्मेदवार नामावली बाेकेर प्रदेश कार्यालय सुर्खेतमा छन। अहिले यस्तो अवस्था सिर्जना हुनुमा गत स्थानीय तहकाे निर्वाचनमा आफू र आफ निकटकाले उम्मेदवार टिकट नपाएपछि त्यसको बदला याे निर्वाचनमा लिन खाेज्नुले अहिले याे खिचातानी मुख्य कारण बनेको कांग्रेस एक नेताले जनसहारासंग बताए।

जनसहारासंग कुरा गर्दै उनी भन्छन; `जहिले पनि युवालाई पन्छ्याउने काम हुँदै आएकाेमा अहिले केहि भिजन बाेकेका युवालाई समेत पछि पार्ने रणनीतिका साथ जिल्ला स्तरकाे नेता भएकै आडमा युवा पुस्तालाई कुण्ठित गर्न खाेजिएकाे, राम्राकाे अपेक्षा नगरेर सधै आफै तिर मात्रै खिच्ने प्रवृत्ति हावि भएको छ।´

केन्द्रीय सहमति अनुसार जाने हाे भने सल्यानमा पनि गठबन्धन हुनुपर्ने हाे तर गठबन्धन भन्दा पनि पार्टी भित्रकै द्वन्द चर्किएपछि गठबन्धनसंगकाे छलफल भन्दा आन्तरिक रुपमा सल्यान कांग्रेस रुम्मलिएकाे छ। जसले गर्दा गठबन्धनबारे सल्यानमा कांग्रेसले कुनै संकेत समेत गर्न सकेकाे छैन। गत स्थानीय तहकाे निर्वाचनमा पनि सल्यानमा गठबन्धन भन्दा अन्य साना दल संग र प्रमुख दलहरुले तालमेललाई बढि प्राथमिकता दिएका थिए।

सल्यान कांग्रेसका पछिल्ला गतिविधिले केन्द्रीय स्तरमा रहेका विभिन्न समुहलाई आधार मानेर भन्दा जिल्ला स्तरमै रहेका व्यक्ति व्यक्ति बिच नै पक्षविपक्ष खडा हुदा जिल्ला स्तरमै भिन्न समुहकाे निर्माण भइसकेकाे संज्ञा दिन्छ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार