भदौ ११ काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मापदण्ड संगै उम्मेदवार सिफारिसकाे लागि समेत मिति तय गरेकाे छ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट भदौ २२ सम्म उम्मेदवारको सिफारिस गर्ने निर्णय गरेकाे छ। जस अनुसार उम्मेदवार छनाेटका ५ आधारहरुलाई मापदण्ड समेत बनाएकाे छ।

उक्त मापदण्डअनुसार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद नदोहोर्‍याउने र यसअघिको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पराजित उम्मेदवारलाई पनि उम्मेदवार छनाेट नगर्ने भएको छ।

उम्मेदवार चयनका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने मापदण्ड तय गरेको छ।

प्रत्येक निर्वाचन क्षेत्रमा रहेका क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार त्यसरी सिफारिस गर्दा एक महिलासहित ३ महिलाको नाम सिफारिस गर्नुपर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार