साउन १७ काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव ६ लाख रुपैयाँ घुससहित स्राेत नखुलेको १६ लाख ५० हजार सहित पक्राउ परेका छन।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जनाएको छ।

नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएपछि साेहि सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित आरन्य होटलकाे कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

पक्राउ परिसकेपछि उपसचिव नेपालले प्रयाेग गर्ने बा १ झ ९९४६ सरकारी नम्बरको कार खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रकम बरामद भएको प्रवक्ता भण्डारीले बताए।

उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्र (लाइसेन्स) का लागि घुस मागेको सुचना प्राप्त भएको थियाे भने उनीबाट जम्मा २२ लाख ५० हजार रुपैयाँ बरामद भएको र उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार