साउन १७ अर्घाखाँची – छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आ.व. २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी निवेदनमा आधारमा तत्कालीन तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी अनुसन्धान गर्दा भ्रष्टाचार पुष्टि भएपछि बिगाे सहित मुद्दा दर्ता गरिएको आयाेगले जनाएको छ।

अधिकृत जाेशी सरुवा भई गए पश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने, दिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये रु. ४ लाख ४७ हजार ५ सय बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिँदा तत्कालीन कार्यकारी अधिकृत जोशीले भ्रष्टाचार गरेकाे पुष्टि भएको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

अधिकृत जाेशीकाे उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि हुन आएकोले सरकारी रकम हानिनोक्सानी गरेकाे बिगो रु.४ लाख ४७ हजार ५ सय बिगाे कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र साेहि ऐनको दफा ३(१) (घ)  बमोजिम कैद सजायको मागदावी लिई विशेष अदालत, काठमाडौंमा साेमबार मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार