जेठ ९ सल्यान – २०७४ काे स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएका सल्यान बागचौर नगरपालिका नगर प्रमुख लाेकमान बुढाथोकीले आफुले कुनै सेवा सुविधा नलिने घाेषणा गरेका थिए।

नगरप्रमुखको रुपमा ५ वर्षमा बुढाथोकीले पारिश्रमिक रुपमा पाएको सबै सेवा–सुविधा वापतकाे (तलब/भत्ता) विभिन्न सामाजिक कामकाे लागि खर्चिएका छन। अहिले कार्यकाल सकिए पछि र नयाँ जनप्रतिनिधिलाई पद बहाली गर्ने क्रममा पाँच वर्षिय आफ्नाे पारिश्रमिक रकम र लगानी गरेकाे कामका बारेमा साेमबार बुढाथोकीले सार्वजनिक गरेका छन।

बुढाथोकीकाे ५ वर्षकाे कार्यकालमा नियमानुसार कार्यालयबाट प्राप्त भएको सेवा, सुविधाका साथै अन्य विभिन्न संघ, संस्था लगायतका बैठक भत्ता समेत जोड्दा कुल रकम २३ लाख ६४ हजार २ सय ६५ रुपैयाँ जम्मा भएको बताएका छन। त्यसमध्ये ५ वर्षको सेवा, सुविधा (तलब/भत्ता) बापत २२ लाख २६ हजार २ सय ७५ रुपैयाँ रहेको छ भने कार्यकाल भरिमा १ चोटि मात्रै लिइएको टिएडिए ३९ हजार ५ सय रहेको छ । यति मात्रै नभएर नगरपालिका बाहिरबाट अन्य विभिन्न संघ, संस्थाका बैठक तथा कार्यक्रमबाट प्राप्त भएको भत्ता ४२ हजार ४ सय पनि सामाजिक कार्यमा नै खर्च गर्ने उद्देश्यले सोही रकममा समावेश गरेको बुढाथोकीले बताएका छन।

आफैबाट रकम उठाएर सुरु गरिएकाे कोभिड १९ रोकथाम तथा नियन्त्रण कोष, कोभिड १९ आइसोलेसन केन्द्र र प्राथमिक आँखा तथा कान उपचार केन्द्र साथै अन्य सामाजिक कार्यहरूमा आर्थिक सहयोग गरिएको विवरण सहित पाँच वर्षको कार्यकालमा हालसम्म १५ लाख २७ हजार ८ सय ६८ रकम विभिन्न सामाजिक कार्यमा उपलब्ध गराइसकेको बुढाथोकीले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ।

जसमध्ये, कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि (पहिलो चरणको कोभिड १९ को महामारीमा) रु.४ लाख ५० हजार रुपैयाँ रहेको छ । दोस्रो चरणको कोभिड १९ को महामारी चरम उत्कर्षमा पुगेका बेला अक्सिजन सहितको कोरोनाको उपचारको अभावले ज्यान गुमाइरहेको अवस्थामा आफैले व्यक्तिगत रकममै अक्सिजनको व्यवस्थापन गरेर बागचौरमा कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालन गरिएको थियो । जसको लागि २० थान अक्सिजन सिलिन्डर, १७ सय २८ पिस साबुन, फेस सिल्ड ५० पिस, N95 मास्क ३ सय पिस, सर्जिकल मास्क ४१ हजार २ सय ५० पिस गरी जम्मा ८ लाख २६ हजार रकम बराबरको स्वास्थ्य सामाग्री खरिद गरिएको थियाे।

बागचौर नगरपालिका २ खरिबोटमा स्थापित प्राथमिक आँखा तथा कान उपचार केन्द्रलाई तत्काल भौतिक तथा प्राविधिक व्यवस्थापनको लागि १ लाख, प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा बिरामी र कुरुवाका लागि प्रतीक्षालय निर्माणकाे लागि रु.७१ हजार ३ सय ६८ रुपैयाँ लगानी लागेको छ भने जसमध्ये बुढाथोकीकाे परिवारलाई द्वन्द्व पीडितको नाममा जिल्ला प्रशासन कार्यालय, सल्यानबाट प्राप्त भएको रकम २५ हजार र नगर प्रमुखको सेवा सुविधा वापत प्राप्त ४६ हजार ३ सय ६८ रुपैयाँ लगानी गरेकाे बताएका छन।

डाँगी जातिको उद्गम स्थल अग्ला टाकुरामा नवनिर्मित मूर्ति निर्माणको लागि सहयोग रकम ५० हजार, थारमारे बजारमा शौचालयको लागि २१ हजार ५ सय मूल्य बराबरको पाइप र २ हजार लिटरको हिल ट्यांकीकाे व्यवस्था गरिएको छ।

नगर प्रमुखको सेवा सुविधा बापतको रकम र विभिन्न संघ संस्थाको बैठक भत्ता जोड्दा आउने कुल जम्मा रकम रु.२३ लाख ६४ हजार २ सय ६५ रुपैयाँ मध्ये हालसम्म आर्थिक सहयोग स्वरूप गरिएको रकम रु.१५ लाख २७ हजार ८ सय ६८ घटाउँदा बाँकी ८ लाख ३६ हजार ३ सय ९७ बचत रहेको छ ।

बचत रकम मध्ये रु.५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रकम बागचौर नगर कार्यपालिका अन्तर्गतको स्थानीय शिक्षा समितिको मातहतमा रहने गरी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने र जसबाट बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा SEE मा सबैभन्दा उत्कृष्ट GPA अंक ल्याउने सहिद, बेपत्ता तथा द्वन्द्व पीडितका सन्ततिहरू मध्ये एक जना छात्रा र एक जना छात्रलाई र नगरभित्रका सम्पूर्ण विद्यार्थीहरु मध्येबाट एक जना छात्र र एक जना छात्रालाई प्रत्येक वर्ष अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज रकमबाट तोकिएको कार्यविधि बमोजिम सम्मान सहित छात्रवृत्ति रकम प्रदान गरिने गरि छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने तयारी गरेका छन।

अन्य बाकी रकम २ लाख ८० हजार ८ सय ४१ रुपैयाँ नेपाल पत्रकार महासंघ सल्यान शाखा अन्तर्गत रहने गरी एउटा अक्षयकोष स्थापना गर्ने र अक्षयकोषबाट आउने व्याज रकमबाट कार्यविधि बमोजिम प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई सम्मान सहित रकम उपलब्ध गराउने गरि आफुले पाँच वर्षमा पाएकाे सबै सेवा सुविधा पुर्णरुपमा सामाजिक कार्यमा खर्चिदै प्रतिबद्धता पुरा गरेकाे निवर्तमान नगरप्रमुख बुढाथोकीले बताए। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार