फागुन २२ काठमाडौ – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहले गरेको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेकाे छ।

जस अन्तर्गत सल्यानका दस वटा स्थानीय तह मध्य कुनैले पनि ६० प्रतिशत अंक ल्याएका छैनन। आयाेगकाे मुल्यांकन तथ्यांक अनुसार जिल्ला सबैभन्दा बढि अंक शारदा नगरपालिकाले ५९.६६ अंक र सबै भन्दा कम छत्रेश्वरी गाउँपालिकाले ३८.६० अंक प्राप्त गरेकाे तथ्यांक उल्लेख गरेकाे छ।

जिल्लाका अन्य स्थानीय तह मध्ये त्रिवेणी गाउँपालिका ५५.२९, कालिमाटी गाउँपालिका ५४.९८, कपुरकोट गाउँपालिका ५४.२४,सिद्ध कुमाख गाउँपालिका ४८.६५, बनगाड कुपिण्डे नगरपालिकाले ४६.४४, दार्मा गाउँपालिका ४५.९७, कुमाख गाउँपालिकाले ४५.२३ र बागचौर नगरपालिका ४३.६९ अंक प्राप्त गरेकाे तथ्यांक आयाेगले सार्वजनिक गरेकाे छ।

आयाेगले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन २०७४ काे दफा ३ काे उपदफा (२) बमोजिम प्रदेश तथा स्थानीय तहकाे कार्यसम्पादनलाई समेत आधार मानेर कार्यसम्पादनमा आधारित वित्तिय समानिकरणकाे अनुदान रकम सिफारिस गरि उक्त रकमकाे कार्यसम्पादन समेतलाई निगरानी गर्दै मुल्यांकन तथ्यांक सार्वजनिक गर्दै आएकाे छ।

आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको कार्यसम्पादन मुल्यांकनका लागि संविधानकाे धारा २५१ काे उपधारा ( १) खण्ड `ख´ बमाेजिम संघिय सञ्चित काेषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समिकरण अनुदान सिफारिस गर्दा आयोगले स्थानीय तहका लागि १७ वटा सूचक तय गरेकाे छ। साेहि अनुसार मुल्यांकन गरेकाे र उक्त मुल्यांकन बाहेक ठाेस प्रमाण सम्बन्धित स्थानीय तहसंग भए परिमार्जन गर्नुपर्ने देखिए सात दिन भित्र उक्त कार्यविधिकाे अनुसुचि ५ बमोजिम ढाँचा निवेदन पेश गर्न समेत आयाेगले आग्रह गरेकाे छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार