फागुन १० काठमाडौँ – लोक सेवा आयोगले विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतकाे गत माघ २६ गतेकाे आदेश अनुसार अर्को सुचना जारी नभए सम्मका लागि परीक्षा स्थगित गर्ने बताएको छ।

फागुन १३ गतेदेखि सञ्चालन हुने भनिएका इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको सहित स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदहरूको परीक्षा पनि स्थगित गरेकाे आयाेगकाे विज्ञप्तिमा उल्लेख छ।

कर्णाली प्रदेशमा पनि स्थगित

त्यसैगरि उता कर्णाली प्रदेश लोक सेवा आयोगले फागुन १४ देखि चैत २६ सम्म लिन लागेकाे पाँचौँ तहका विभिन्न सेवा समूहका पदहरूको लिखित परीक्षाहरू अनिश्चित कालका लागि स्थगित गरेको छ।

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा, समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको लिखित परीक्षा प्रदेश आयोगले सर्वोच्च अदालतकाे उत्प्रेषण आदेशअनुसार अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि स्थगित गरेको बताएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार