भाद्र १७ प्युठान – आन्तरिक रोगको उपचारको लागि बुटवल गएका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापाका ५८ वर्षीय पुरूषमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
गत साउन २२ गते बिरामी परेर प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा जाच गराउनका लागि गएका पुरूषलाई कलेजो सम्बन्धिको समस्या देखिए पछि स्वास्थ्य केन्द्र भिङ्ग्रीले थप उपचारको लागि बुटवल रिफर गरेको थियो । बुटवलमा एक निजि अस्पतालमा उपचार गरेर फर्किएकाेे र फ्लोअपको लागि अस्पतालको निर्देशन अनुसार उनि भदौ १० गते पुनः बुटवल जाचका लागि गएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिए ।
उपचारको क्रममा स्वास्थ्यमा थप समस्या देखिएपछि उनको भाद्र १५ गते स्वाब संकलन गरि कोरोना परीक्षण गर्दा १६ गते कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको अस्पताललाई उद्रीत गर्दै स्वास्थ्य संयोजक केसीले जानकारी दिएका छन । समुदाय स्तरका नागरिकलाई कोरोना संक्रमण देखिएपछि स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ ले एक सूचना निकाल्दै वडालाई थप सिल गरिएको जानकारी दिएको छ ।
प्यूठान जिल्ला पहिलेदेखि नै सिल भएता पनि अझै कडाइ र व्यवस्थित गराउन थालिएको वडा अध्यक्ष टेक बहादुर भट्टराईले जानकारी दिएका छन । संक्रमित पुरूषलाई यहि समुदायमा संक्रमण भएको हो कि बुटवल उपचारको क्रममा अस्पतालमा नै संक्रमण भएको हो केही एकिन नभएको बताउदै भोलि संक्रमित पुरूषको प्रत्येक्ष सम्पर्कमा रहेका परिवारको स्वाब संकलन गरिने र उनीहरूको रिपोर्ट आएपछि सोही अनुरूप अन्य प्रक्रिया अगाडि बढाईने संयोजक केसीले बताउनु भयो ।।