पुस २४ रोल्पा – परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को ११ औं गाउँसभा तथा हिउँदे अधिवेशन गाउँपालिका कार्यालय पुतलाचौरमा सम्पन्न भएको छ।

परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको अध्यक्षतामा भएको हिउँदे अधिवेशनमा ६ ओटै वडाका वडा अध्यक्षहरु,६ ओटै वडाका सदस्यहरु तथा परिवर्तन गाउँपालिकामा कार्यरत कर्मचारीहरुको आतिथ्यता रहेको थियोे। परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हित कुमारी बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनमा सामाजिक शाखा संयोजक तथा परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढामगरले शिक्षा र स्वास्थ्य प्रगति प्रतिवेदन, आर्थिक शाखा संयोजक तथा परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुनमगर कृषि प्रगति प्रतिवेदन, पूर्वाधार विकास शाखा संयोजक तथा परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष सुक बहादुर बुढामगरले भौतिक तथा सडक निर्माण प्रगति प्रतिवेदन, विपद व्यवस्थापन समिति संयोजक तथा परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भानसिङ बुढामगरले विपत व्यवस्थापन, चुनौती सहितको प्रगति प्रतिवेदन, सुशासन तथा संस्थागत समिति संयोजक तथा परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष झपिराम डाँगीले प्रगति सुशासन प्रतिवेदन, विधायन समिति संयोजक तथा परिवर्तन गाउँपालिका ४ का वडा अध्यक्ष दल बहादुर बुढामगरले विधेयक निर्माण तथा कार्यपालिका प्रगति प्रतिवेदन पेस गरेका थिए।

त्यस्तै सूचना तथा सञ्चार समितिको प्रगति प्रतिवेदन पेस गर्दै परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गर्दै सूचना सञ्चारमा राम्रो काम भएको जिकिर गर्दै अझै भने जस्तो नभएको बताउदै, आगामी दिनमा रोल्पा जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यमसँग समन्वय गरि थप प्रभावकारी बनाउने बताए।

साथै परिवर्तन गाउँपालिका सबै वडाको विभिन्न संशोधन सुची र परिवर्तन गाउँपालिकाको संशोधन सुची पेस र २०७८ को श्रावण देखि बस्दै आएको कार्यपालिकाको बैठकले गर्दै आएको महत्त्वपूर्ण निर्णयको प्रतिवेदन परिवर्तन गाउँपालिका नायब सुब्बा ललित बुढामगरले गरेका थिए।यसरी पालिकाको हिउँदे अधिवेशन सकिएको बताइएको छ। परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरले आफूहरूको पाँच वर्षे कार्यकाल अन्तिम भएको बताउदै गाउँपालिकामा आफूहरूले नमूना योग्य काम गरेको साथै स्थानीय तह निर्माण नीति योजनामा महत्त्वपूर्ण उपलब्धि भएको बताइन।

त्यस्तैगरि परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले परिवर्तन गाउँपालिकाको हिउँदे गाउँसभाको अध्यक्षता ग्रहण गर्दै आफूहरूको पाँच वर्षे कार्यकालको समय अन्तिम भएको र गाउँपालिकाको ११ औं गाउँसभा तथा हिउँदे अधिवेशन पनि अन्तिम भएको बताए। साथै परिवर्तन गाउँपालिकामा आफू निर्वाचित भएर आउँदा पालिकाको नियमित कार्य निजी भवन अर्थात् भाडामा लिएर काम भइरहेको स्मरण गर्दै, शून्य अवस्थाबाट काम अगाडि बढाएको बताए।अहिले परिवर्तन गाउँपालिकाको आफ्नै भवन तथा हल निर्माण भएर नागरिकलाई सेवा प्रदान गरिरहेको र परिवर्तन गाउँपालिकाको सबै वडामा वडा कार्यालय निर्माण भएको उल्लेख गर्दै एक दुई वडा अझै पनि भाडामा चलिरहेको बताउदै परिवर्तन गाउँपालिका अरु पालिका भन्दा नमूना योग्य काम गर्न सफल भएको बताए। परिवर्तन गाउँपालिकाले शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी तथा कृषि कार्यमा छलाङ्ग मारेको समेत बताए । रोल्पा जिल्ला हिउँदे अधिवेशन गर्नेमा पहिलो पालिका परिवर्तन गाउँपालिका भएको पनि बताए।

समृद्धि,सुरक्षित,सामाजिक न्याय र सुशासनयुक्त परिवर्तन गाउँपालिका भन्ने मुल भनाइलाई आत्मसात गर्दै महत्त्वपूर्ण ४ विषयमा छलफल गरि ११ औं गाउँसभा अन्त्य भएको हाे।

१) हाल सम्मको प्रगति विवरण प्रस्तुत,
२)संसोधित कार्यक्रमहरु
३)श्रावण देखि हाल सम्मको कार्यपालिका बैठकको अनुमोदन
४)विविध विषयमा अनुमोदन

चालू तथा पुजीगत गरि कुल बजेट ४५ करोड १६ लाख ८३ हजार ४ सय ७८ रुपियाँ ३७ पैसा रहेको छ। गाउँसभा तथा हिउँदे अधिवेशन कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गरेका थिए।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार