असोज ०६, सल्यान – हिन्दू नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि  सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइने यो पर्वको प्रारम्भ घटस्थापनाद्वारा गरिन्छ ।

आज बिहानैदेखि दशैँ घर–घरमा वैदिक विधिअनुसार पूजा–आराधना गर्दै घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वानका साथ पूजाको सुरुआत गरिन्छ ।

यस अवसरमा नित्यकर्म सम्पन्न गरेपछि नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई, गाईको गोबरले लिपपोत गरिएको स्थानमा जमरा राखिन्छ। जमराका रूपमा यव (जौँ) रोप्ने चलन रहेको छ। देवी दुर्गाको प्रिय वस्तु मानिने यव अंकुरलाई विजयादशमीको दिन टीका र प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट (कलश) स्थापना गरी त्यसमाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई ‘घटस्थापना’ भनिन्छ। पूर्ण कलशमा राखिएको जलले दुर्गाको अभिषेक गरी, विजयादशमीको दिन प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको घटस्थापनाको शुभ साइत बिहान ९:१३ बजे रहेको छ ।

दशैँका नौ दिन अर्थात् नवरात्रभर देवी दुर्गाका विभिन्न स्वरूपहरूको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार