पछिल्लो समय नेपालका विभिन्न मेला महोत्सव तथा मनोरञ्जनात्मक कार्यक्रममा देखिने ‘जलपरी’ ले धेरैलाई चकित बनाएको छ। पानीले भरिएको ठूलो सिसाको ट्याङ्कीभित्र मानिस जलपरी जस्तै बनेर घण्टौँ अभिनय गरिरहेको दृश्यले कतिपय दर्शकलाई वास्तविक जलपरी भएको भ्रमसमेत परेको छ। तर वास्तविकता के हो भने, महोत्सवमा देखाइने जलपरी कुनै चमत्कार वा काल्पनिक होइन, यो विशेष तालिम, प्रविधि र सुरक्षासहित गरिएको मानव कला प्रदर्शन हो।

जलपरी के हो ?
अहिले पछिल्लो समय नेपालका विभिन्न महोत्सवमा प्रस्तुत गरिने जलपरीलाई नेपालकाे सन्दर्भमा अनौठो कलाकाे रुपमा लिइएको छ तर  अन्तर्राष्ट्रिय मुलुकमा भने यसकाे व्यापक प्रदर्शन भइसकेकाले सामान्य रुपमा लिने गरेको पाइन्छ।  अन्तर्राष्ट्रिय मुलुकहरुमा यस्तो जलपरी कला गर्नेलाई Mermaid Performance भन्छन।  यसमा प्रशिक्षित कलाकारले माछाको पुच्छर जस्तै देखिने विशेष पोसाक लगाएर पानीभित्र सास रोकेर अभिनय गर्छन। यसलाई मनोरञ्जनात्मक कला (Performance Art) को रूपमा लिइन्छ।

जलपरीको पोसाक कसरी बनाइन्छ ?

जलपरीको मुख्य पहिचान पोसाक हो। तल्लो भाग सिलिकोन, फाइबर वा रबरबाट बनेको हुन्छ, जसले माछाको पुच्छर जस्तै देखिने बनावट दिन्छ। कलाकारका दुवै खुट्टा एउटै खोलभित्र राखिने भएकाले बाहिरबाट हेर्दा मान्छेको खुट्टा देखिँदैन। यस्तो पोसाक पानीभित्र सजिलै चल्न मिल्ने गरी डिजाइन गरिएको हुन्छ र प्रायः विदेश वा ठूला सहरबाट मगाइन्छ।

पानीको ट्याङ्की र प्रविधि

जलपरी शोका लागि सामान्य ट्याङ्की प्रयोग हुँदैन। बाक्लो सिसाको ठूलो ट्याङ्की तयार गरिन्छ, जसमा पर्याप्त गहिराइको पानी राखिन्छ। ट्याङ्कीभित्र निलो वा हरियो बत्ती, बबल इफेक्ट र उपयुक्त तापक्रम मिलाइन्छ ताकि कलाकारलाई असहज नहोस् र दर्शकले स्पष्ट रूपमा प्रस्तुति हेर्न सकून् भन्ने उद्देश्य राखिएको हुन्छ।

कलाकारलाई सास रोकेर बस्ने तालिम

जलपरी कलाकारको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सास रोकेर बस्ने क्षमता हो। कलाकारले डाइभिङ तथा एप्निया (Apnea) सम्बन्धी विशेष तालिम लिएका हुन्छन्। सामान्यतया २ देखि ५ मिनेटसम्म सास रोकेर पानीभित्र रहन सक्ने अभ्यास गरिन्छ। तालिम बिना यस्तो कार्य गर्नु ज्यान जोखिममा पर्ने भएकाले विशेषज्ञहरूले सर्वसाधारणलाई नक्कल नगर्न चेतावनी दिने गरेका छन्।

प्रस्तुति कसरी दिइन्छ ?

प्रस्तुति निश्चित समय तालिकाअनुसार सञ्चालन हुन्छ। संगीत बजाइएपछि कलाकार ट्याङ्कीभित्र प्रवेश गर्छन र पानीमा पौडिने, हात हल्लाउने, आँखाको सम्पर्क गर्ने तथा दर्शकतर्फ मुस्कान दिने अभिनय गर्छन। निश्चित समयपछि सुरक्षित रूपमा ट्याङ्कीबाट बाहिर निस्किन्छिन्।

सुरक्षा व्यवस्था कत्तिको छ ?

जलपरी शोमा सुरक्षा सबैभन्दा संवेदनशील पक्ष हो। ट्याङ्की बाहिर उद्धार टोली, अक्सिजन सिलिन्डर, मेडिकल सपोर्ट र आपतकालीन संकेतको व्यवस्था गरिन्छ। कलाकारलाई असहज भए तत्काल प्रस्तुति रोक्ने प्रणालीसमेत राखिएको हुन्छ।

किन जलपरी शो लोकप्रिय हुँदैछ ?

फरक किसिमको मनोरञ्जन, बालबालिकाको चासो, फोटो तथा भिडियो खिच्न मिल्ने दृश्य र सामाजिक सञ्जालमा छिटो भाइरल हुने सम्भावनाले जलपरी शो महोत्सवको मुख्य आकर्षण बन्दै गएको छ। यसले आयोजकलाई दर्शक तान्न सहयोग पुर्‍याएको छ।

महोत्सवमा गरिने ‘जलपरी शो’ का जोखिम के हुन सक्छ ?

महोत्सव र प्रदर्शनीमा प्रस्तुत गरिने जलपरी शो आकर्षक देखिए पनि यससँग गम्भीर शारीरिक तथा सुरक्षात्मक जोखिम जोडिएका छन्। प्रशिक्षित कलाकार र कडा सुरक्षा व्यवस्था बिना यस्तो प्रस्तुति ज्यानसमेत जोखिममा पार्न सक्ने विज्ञहरूको भनाइ छ।

१) सास फेर्न समस्या (Breath Holding Risk)
जलपरी कलाकारले लामो समयसम्म सास रोकेर पानीभित्र बस्नुपर्छ। अक्सिजनको कमी (Hypoxia), अचानक बेहोस हुने सम्भावना, पानीभित्रै चेतना गुम्ने जोखिम। यी अवस्था नियन्त्रण बाहिर गएमा डुबेर ज्यान जाने समेत खतरा हुन्छ।

२) ‘साइलन्ट ब्ल्याकआउट’ को खतरा
डाइभिङमा देखिने Silent Blackout सबैभन्दा खतरनाक जोखिम हो। कुनै चेतावनी बिना बेहोस हुने, पानीभित्रै चेतना हराउने वा बेहाेस हुने यसैले निरन्तर निगरानी अनिवार्य हुन्छ।

३) पोसाकका कारण चलायमान समस्या
जलपरीको पुच्छर पोसाकमा: दुवै खुट्टा एउटै खोलभित्र हुन्छ जसले गर्दा आकस्मिक अवस्थामा छिटो बाहिर निस्कन गाह्रो हुन्छ र ट्याङ्कीभित्र अड्किने सम्भावना रहन्छ यो आपतकालीन अवस्थामा सबैभन्दा ठूलो जोखिम मानिन्छ।

४) पानीको तापक्रम र स्वास्थ्य समस्या
धेरै चिसो पानीमा लामो समय बस्दा शरीर शिथिल हुने,मांसपेशी सुन्निने, मुटुको धड्कन अनियमित हुने, छालामा संक्रमण वा एलर्जीको सम्भावना

५) मानसिक दबाब र तनाव
दर्शकको भीड र क्यामेराको दबाब, समयभित्र प्रस्तुति सक्नुपर्ने बाध्यता, त्रुटि भए आलोचनाको डर यसले कलाकारमा आत्मविश्वास घट्ने र त्रास उत्पन्न गर्न सक्छ।

६) संरचनात्मक जोखिम
ट्याङ्कीको सिसा कमजोर भएमा दुर्घटना हुन सक्छ पानी चुहावट, विद्युत् बत्ती र पानीको संयोजनबाट करेन्ट लाग्ने सम्भावना

७) अपर्याप्त सुरक्षा व्यवस्थाको जोखिम
यदि उद्धार टोली नहुने, अक्सिजन सिलिन्डर नहुने, मेडिकल स्टाफ नहुने भने सानो समस्या पनि ठूलो दुर्घटनामा परिणत हुन सक्छ।

स्वास्थ्य तथा डाइभिङ विशेषज्ञहरूका अनुसार “तालिम र सुरक्षा बिना गरिने जलपरी शो मनोरञ्जन होइन, ज्यानसँग खेलवाड हो।” जलपरी शो आकर्षक देखिए पनि यसमा उच्च स्तरको जोखिम हुन्छ। त्यसैले यस्तो प्रस्तुति केवल प्रशिक्षित कलाकार, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र मेडिकल तयारीसहित मात्र सञ्चालन गर्नुपर्ने विज्ञहरूको सुझाव छ। सर्वसाधारणले यसको नक्कल गर्नु अत्यन्त खतरनाक मानिन्छ।

नेपालमा जलपरी शोको कानुनी अवस्था के छ ?

नेपालमा महोत्सव, प्रदर्शनी वा मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तुत गरिने जलपरी शो का लागि छुट्टै विशेष कानुन छैन। तर यस्तो प्रस्तुति विभिन्न प्रचलित कानुन, नियम र स्थानीय प्रशासनिक व्यवस्थाअन्तर्गत सञ्चालन गर्नुपर्ने हुन्छ।
१) स्थानीय तहको अनुमति अनिवार्य
नेपालमा कुनै पनि सार्वजनिक मनोरञ्जन कार्यक्रम सञ्चालन गर्न नगरपालिका/गाउँपालिकाबाट अनुमति, कार्यक्रमको प्रकृति, अवधि र स्थानको विवरण, भीड व्यवस्थापन र सुरक्षा योजना अनिवार्य मानिन्छ। अनुमति बिना कार्यक्रम सञ्चालन भए स्थानीय तहले रोक लगाउन वा कारबाही गर्न सक्छ।

२) जिल्ला प्रशासन कार्यालय र प्रहरीको भूमिका
ठूलो महोत्सव वा भीडभाड हुने कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनको समन्वय आवश्यक हुन्छ। सार्वजनिक शान्ति, सुरक्षा र जोखिमको मूल्याङ्कन गरी अनुमति दिइन्छ।

३) श्रम ऐन र श्रमिक सुरक्षा
जलपरी शो गर्ने कलाकार श्रमिकको हैसियतमा पर्छन्। त्यसैले श्रम ऐन, २०७४ अनुसार सुरक्षित कार्य वातावरण जोखिमयुक्त काममा अतिरिक्त सावधानी, श्रमिकको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी आयोजकको हुन्छ। लापरबाही भए आयोजक कानुनी रूपमा उत्तरदायी हुन सक्छ।

४) उपभोक्ता संरक्षण ऐन
दर्शकबाट टिकट लिएर शो देखाइने भएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ लागू हुन्छ, भ्रामक प्रचार (जस्तै “वास्तविक जलपरी”) गरेमा कानुनी प्रश्न उठ्न सक्छ, उपभोक्तालाई भ्रममा पारेको ठहर हुन सक्छ।

५) जोखिमयुक्त प्रदर्शनका लागि अतिरिक्त सावधानी
जलपरी शो पानीभित्र गरिने, सास रोकेर बस्नुपर्ने, शारीरिक रूपमा जोखिमयुक्तभएकाले, यदि दुर्घटना भएमा आपराधिक लापरबाही, क्षतिपूर्ति दायित्व महाेत्सव आयोजक व्यवस्थापक र प्राविधिक टोली माथि कानुनी जिम्मेवारी लिनुपर्छ।

६) स्वास्थ्य र सुरक्षासम्बन्धी कानुनी दायित्व
नेपालमा पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डहरू लागू हुने भएकाले मेडिकल तयारी, उद्धार टोली,आपतकालीन उपकरण नराखी कार्यक्रम सञ्चालन गर्नु कानुनी जोखिम मानिन्छ। नेपालमा जलपरी शो प्रतिबन्धित भने होइन, तर अनुमति बिना सुरक्षा मापदण्ड नअपनाई भ्रामक प्रचार गरी सञ्चालन गरेमा कानुनी कारबाहीको दायरामा पर्न सक्ने स्पष्ट देखिन्छ। त्यसैले यस्तो शो स्थानीय प्रशासन, प्रहरी, श्रम र उपभोक्ता संरक्षण कानुनको पालना गर्दै मात्र सञ्चालन गर्नुपर्ने हुन्छ।

सांस्कृतिक र सामाजिक दृष्टिकोण
नेपालजस्तो परम्परागत समाजमा सार्वजनिक स्थानमा अर्धनग्न प्रस्तुति धेरैलाई असहज, आपत्तिजनक वा अनुचित लाग्छ। विशेषगरी बालबालिका, परिवार र धार्मिक–सांस्कृतिक परिवेशमा यस्तो प्रदर्शनले नकारात्मक प्रतिक्रिया ल्याउने सम्भावना हुन्छ।

कला र मनोरञ्जनको पक्ष जलपरी प्रदर्शन मूलतः परफर्मिङ आर्ट हो—डाइभिङ, सास नियन्त्रण, तालिम र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय स्तरमा यस्ता शोहरू सीमित स्थान, स्पष्ट नियम र दर्शकको उमेर सीमा राखेर गरिन्छ। तर अहिले नेपालमा याे पछिल्लो समय सबै माझ लाेकप्रिय भएको देखिन्छ कारण हाे नयाँ किसिमको छुट्टै कला भएकाले सबैको ध्यान खिच्याे। अब समस्या कहाँ हुन्छ ? भने समस्या कला भन्दा बढी प्रस्तुतिको तरिका र स्थान मा हुन्छ। जस्तै : खुला मेला महोत्सव, बालबालिका सहजै उपस्थित हुने ठाउँ, पोशाक अत्यधिक उत्तेजक बनाइने अवस्था यस्ता अवस्थामा यो प्रदर्शन अनुचित र गैरजिम्मेवार मानिन्छ।

यस्तो अवस्थामा  कानुनी र नैतिक दायित्व अन्तर्गत नेपालमा सार्वजनिक शिष्टाचार, अश्लीलता र बालअधिकारसम्बन्धी कानुन छन्। अश्लील देखिने प्रस्तुति, दर्शकको उमेर नियन्त्रण नगर्नु, कलाकारको चरित्र सुरक्षामा समेत लापरबाही यी सबै प्रश्न उठ्न सक्छन्।

यसरी खुलेआम अर्धनग्न भएर जलपरी प्रदर्शन गर्नु सामाजिक रूपमा उपयुक्त मानिँदैन। यदि गर्नैपर्ने हो भने बन्द हल वा नियन्त्रित स्थान, स्पष्ट उमेर सीमा, मर्यादित पोशाक, कानुनी अनुमति र सुरक्षा मापदण्ड अनिवार्य हुनुपर्छ। नत्र भने यो मनोरञ्जनभन्दा बढी विवाद र आलोचनाको विषय बन्ने सम्भावना बढी हुन्छ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार