रुकुम पूर्वमा कृषि विकास बैंकका प्रबन्धक मृत फेला परेका छन।
सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकको आवासमा बैंक प्रबन्धक मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयले रुकुम पुर्वले जनाएको छ।
सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल कृषि विकास बैंक रुकुम पूर्वमा प्रबन्धकको रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताए।
शनिबार दिउँसो करिब २:५० बजेतिर प्रहरीलाई उनी अचेत अवस्थामा फेला परेको खबर आएपछि डिएसपी यादव सहितको प्रहरी टाेलि घटनास्थल पुगेको थियाे।
अपरान्ह ४:२० बजे चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा गिरीलाई मृत घोषणा गरेकाे र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी यादवले बताए।